२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ। तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ।

इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत ३० वर्षदेखि बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर परिवारको जीविकोपार्जन गर्दै आएका छन्। उनले बुबाआमाबाट सिकेको पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै यी सामग्री उत्पादन गर्दै आएका हुन्।

'पहिले बुबाआमाले गर्दै आउनुभएको पेसालाई अहिले हामीले निरन्तरता दिएका छौँ', उनले भने, 'गाउँबाट प्रतिघान रु दुई सय ५० मा बाँस खरिद गरी चोया निकालेर सामग्री बनाउने गरेका छौँ। एउटा सामान्य सामग्री तयार पार्न करिब दुई घण्टा लाग्छ।'

उनले उत्पादन गरेका सामग्रीको मूल्य रु ५० देखि ५०० सम्म पर्ने गरेको छ। पूजाआजामा सीमित समय प्रयोग हुने भएकाले महँगा सामग्रीको बिक्री कम हुने उनको भनाइ छ। उनले स्थानीय हटिया बजारमा सामग्री बिक्री गर्दै आएका छन्।

विशेषगरी मधेसी तथा चौधरी समुदायमा विवाहका बेला कोनिया र ढकियालगायत सामग्रीको प्रयोग बढी हुने भएकाले विवाहको मौसममा माग बढ्ने गरेको उनले बताए। तिहार र छठ पर्वमा पूजाका लागि पनि यस्ता सामग्रीको प्रयोग हुने भएकाले बिक्री बढ्ने गरेको छ।

केही ग्राहक घरमै आएर सामग्री खरिद गर्ने भए पनि उनी आफैँ इनरुवाको सोमबारे र बिहीबारे हटियामा लगेर बिक्री गर्छन्। 'अरू कुनै पेसा व्यवसाय छैन। वर्षभरि यही काम गर्छौँ। आम्दानीको हिसाब राख्ने गरेका छैनौँ, तर परिवारको जीविकोपार्जनको मुख्य आधार यही पेसा हो', उनले भने।

यसैगरी, इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राईले पनि बाँसको चोयाबाट नाङ्लो बुनेर जीविकोपार्जन गर्दै आएका छन्। पुर्ख्यौली सीपलाई व्यावसायिक रूपमा अघि बढाएका उनले करिब दुई दशकदेखि नाङ्लो उत्पादन गरी बिक्री गर्दै आएका हुन्।

'यो हाम्रो पुर्ख्यौली पेसा हो। समय दिएर मेहनतका साथ काम गर्न सकियो भने आम्दानी पनि राम्रै हुन्छ', उनले भने, 'नाङ्लो बिक्रीबाट वार्षिक करिब रु सातदेखि आठ लाखसम्मको कारोबार हुन्छ। यही आम्दानीबाट घरखर्च, छोराको पढाइ र परिवारका अन्य आवश्यकता पूरा गर्दै आएका छौँ।'

उनले नाङ्लो बनाउन आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गरेका छन्। एउटा बाँसको मूल्य रु दुई सयदेखि तीन सयसम्म पर्ने र त्यसबाट १० देखि १२ वटासम्म नाङ्लो बनाउन सकिने उनले जानकारी दिए। उनका अनुसार एक हप्तामा करिब एक सयभन्दा बढी नाङ्लो तयार गर्न सकिन्छ। उत्पादित नाङ्लो व्यापारीले प्रायः हरेक हप्ता घरमै आएर खरिद गरी लैजाने गरेका छन्।

उनले उत्पादन गरेका नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर र पथरीलगायत स्थानमा बिक्री हुने गरेका छन्। एउटा नाङ्लोको मूल्य रु एक सय ३० देखि दुई सय ५० सम्म पर्ने उनले बताए।

'नाङ्लो बनाउन सकियो भने बजारको अभाव हुँदैन। पहिले हामी भोजपुरबाट नाङ्लो ल्याएर बेच्थ्यौँ, अहिले यहाँ बनाएको नाङ्लो भोजपुरका व्यापारी आएर लैजानुहुन्छ', उनले भने।

दसैँ, तिहार र छठलगायत चाडपर्व तथा पूजाआजामा नाङ्लोको प्रयोग बढी हुने भएकाले भदौ, असोज र कात्तिकमा यसको बिक्री अन्य समयको तुलनामा बढ्ने गरेको उनले बताए। सुनौलो बस्तीमा राईसहित १५ भन्दा बढी घरपरिवारले व्यावसायिक रूपमा बाँसको चोयाबाट नाङ्लो बुनेर जीविकोपार्जन गर्दै आएका छन्।

यस पेसाले परिवारका सदस्यलाई घरमै बसेर काम गर्ने अवसर दिनुका साथै परम्परागत सीपको संरक्षणमा समेत सहयोग पुर्‍याएको उनको भनाइ छ। 'अरूकोमा मजदुरी गर्नुभन्दा घरमै बसेर पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै कमाउनु फाइदाजनक छ। मेहनत गर्नुपर्छ, आम्दानी राम्रै हुन्छ', उनले भने, 'नाङ्लो बुनेर आएको आम्दानीबाट सानो घर बनाएको छु। छोराछोरीको पढाइ खर्च पनि यही पेसाबाट जुटाएको छु।'

ग्राहकको मागअनुसार विभिन्न आकार र प्रकारका नाङ्लो उत्पादन गर्न सकिने भए पनि बजारमा माग रहेअनुसार मूल्य भने बढ्न नसकेको उनले बताए। रासस

प्रकाशित: २६ कार्तिक २०८३ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App