मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ। यसमा विपन्न तथा दलित परिवारका आवासदेखि सरकारी कार्यालय, सामुदायिक भवन र धर्मशालासम्म समेटिएका छन्।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७-७८ देखि आव २०८२-८३ सम्म जनता आवास कार्यक्रमअन्तर्गत २० हजार ३७८, महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत दुई हजार ४१२ र विपन्नसँग मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत चार हजार ७८ आवास निर्माण भएका छन्।
यस अवधिमा ८५६ सरकारी भवन, २९१ सामुदायिक भवन र ६८ धर्मशालासमेत निर्माण भएका छन्। मन्त्रालयका सूचना अधिकारी रोहित जोशीले प्रदेशका आठवटै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा ती संरचना निर्माण गरिएको जानकारी दिए।
मधेश प्रदेशको आवास कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष विपन्न तथा दलित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउनु हो। वर्षौंदेखि कमजोर तथा असुरक्षित घरमा बस्दै आएका परिवारका लागि पक्की आवास निर्माण भएपछि उनीहरूको जीवनशैलीमा परिवर्तन आएको छ।
जनता आवास कार्यक्रमअन्तर्गत मात्रै आव २०७७-७८ मा नौ हजार ४५, आव २०७८-७९ मा दुई हजार ७२८, आव २०७९-८० मा छ हजार ३९३, आव २०८०-८१ मा ११५, आव २०८१-८२ मा एक हजार ६४८ र आव २०८२-८३ मा १९० आवास निर्माण भएका छन्।
यसरी हजारौँ परिवारले वर्षा, हावाहुरी तथा अन्य प्राकृतिक जोखिमबाट जोगिने सुरक्षित आवास पाएका छन्। प्रदेश सरकारको अर्को महत्वपूर्ण उपलब्धि सरकारी भवन निर्माण पनि हो। प्रदेश सरकार स्थापना भएपछि विभिन्न सरकारी कार्यालयका लागि आवश्यक भवन निर्माणलाई प्राथमिकता दिइएको छ।
आव २०७७-७८ देखि आव २०८२-८३ सम्म ८५६ सरकारी भवन निर्माण सम्पन्न भएका छन्। आव २०७७-७८ मा नौ, आव २०७९-८० मा तीन, आव २०८०-८१ मा २३८, आव २०८१-८२ मा ३१७ र आव २०८२-८३ मा २८९ सरकारी भवन निर्माण भएको मन्त्रालयले जनाएको छ। आफ्नै भवन भएपछि सरकारी कार्यालय सञ्चालनमा सहजता हुनुका साथै सेवाग्राहीले पनि व्यवस्थित वातावरणमा सेवा लिन पाउने अवस्था बनेको मन्त्रालयको भनाइ छ।
गाउँटोलमा विवाह, बैठक, सामाजिक कार्यक्रम तथा अन्य सामुदायिक गतिविधि सञ्चालन गर्न आवश्यक संरचनाको मागलाई सम्बोधन गर्न प्रदेश सरकारले सामुदायिक भवन निर्माणलाई प्राथमिकता दिएको छ। पछिल्लो अवधिमा २९१ सामुदायिक भवन निर्माण भएका छन्। आव २०७७-७८ मा ९७, आव २०७८-७९ मा २७ र आव २०७९-८० मा १६७ सामुदायिक भवन निर्माण गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, विवाह, व्रतबन्धलगायत सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि प्रदेशका जिल्लाहरुमा ६८ धर्मशाला निर्माण भएका छन्। प्रदेश सरकारका अनुसार भवन निर्माणलाई केवल भौतिक संरचना थप्ने कामका रूपमा मात्र नभई नागरिकको जीवनस्तर सुधारसँग जोडिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रविणप्रताप अधिकारीले आधारभूत भौतिक पूर्वाधारको विकासमार्फत नागरिकलाई सहज सेवा, सुरक्षित आवास र सामाजिक गतिविधिका लागि आवश्यक संरचना उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताए। 'पूर्वाधार विकासलाई नागरिकको सामाजिक तथा आर्थिक समृद्धिसँग जोडेर सरकारले काम गरिरहेको छ', उनले भने।
प्रकाशित: २५ भाद्र २०८३ १०:०९ बिहीबार





