२१ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

प्रधानमन्त्रीलाई तीन दिदीको पत्र : जीवनको सम्भावना बाँकी छ भन्ने आशाले कुशको लाश बनाउन सकेनौँ

'हाम्रा भाइबुहारी र चार वर्षका अबोध जुम्ल्याहा भदाभदैनी कहाँ छन् ?'

गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गयो। उक्त बाढीले धेरै धनजनको क्षति गर्‍यो। बाढीले हालसम्म १ हजार ३४१ जनाको ज्यान लिइसकेको छ भने ४ हजार ९९६ जना अझै बेपत्ता छन्। बेपत्ता नागरिकहरूका परिवार आफ्ना प्रियजनहरू फर्किने आशामा छन्। यस्तै, आशामा तीन दिदीहरूले गहभरि आँसु बनाउँदै १२ दिनदेखि आशाको किरण कुरिरहेका छन्। उनीहरू आफ्नो एक्लो भाइ र उनको परिवारको सुखद खबरको पर्खाइमा छन्।

भाइ, बुहारी र उनीहरूका दुई जुम्ल्याहा छोराछोरीहरूको अवस्थाबारे सरकार तथा सम्बन्धित पक्षबाट कुनै पनि जानकारी हालसम्म नपाएको गुनासो उनीहरूको छ। 'हाम्रो परिवारको घडी भने १२ दिनदेखि एउटै ठाउँमा रोकिएको छ,' दिदीहरू पीडा पोखेका छन्।

बाग्लुङ–९, घर भएका दिदीहरू शारदा शर्मा, तारा शर्मा र राजती शर्माले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेख्दै भाइबुहारी र भदाभदैनीको खोजी तथा उद्धारका लागि बिन्ती गरेका छन्।  

'यही विनाशकारी बाढीले हाम्रा आफन्तहरूलाई खर्लप्पै निलेपछि हामी आज १२औँ दिनसम्म पनि भग्नावशेषमाथि आँखा गाडेर बसिरहेका छौँ। काठमाडौंदेखि विदुरसम्म भौँतारिँदै एउटा मात्रै प्रश्नको उत्तर खोजिरहेका छौँ, हाम्रा भाइ–बुहारी र चार वर्षका ती अबोध जुम्ल्याहा भदाभदैनी कहाँ छन्?' पत्रमका उनीहरूले प्रश्न गरेका छन्।

बाढीले त्रिशूली थ्री बीको आवास तथा कार्यालय भवन छोपिँदा आफ्नो भाइ इन्जिनियर राजेश शर्मा, बुहारी इन्जिनियर प्रमिला पाठक र चार वर्षका जुम्ल्याहा भदाभदैनीको अवस्था आजसम्म अत्तोपत्तो नभएको दिदीहरूले पत्रमा उल्लेख गरेका छन्। उनीहरूसँगै इन्जिनियर, कन्सल्टेन्टसहित देशकै ४३ जना अब्बल जनशक्ति उक्त आवास तथा कार्यालय भवनमा फसेको पुष्टि थ्री बी कम्पनीले यसअघि नै गरिसकेको भए पनि उक्त क्षेत्रमा खोज तथा उद्धार प्रभावकारी रूपमा हुन नसकेको पत्रमा भनिएको छ।

हेर्नुस् पत्र:

सम्माननीय प्रधानमन्त्रीज्यू,

देश गत भदौ १० गतेको विनाशकारी बाढीले निम्त्याएको भयावह पीडाबाट अझै बाहिर निस्कन सकेको छैन। कतै घर बगेका छन्, कतै परिवार उजाडिएका छन्, कतै आफन्तको काख रित्तिएको छ। उद्धार, राहत र पुनर्निर्माणको कठिन जिम्मेवारी राज्यको काँधमा छ। बेपत्ताको सूची लामो छ, र ती सूचीमा रहेका हरेक नामसँग एउटा परिवारको आशा, एउटा आमाको आँसु, एउटा बाबुको प्रतीक्षा र एउटा घरको भविष्य जोडिएको छ।

उनीहरूलाई खोजेर सास वा लाश आफन्तको जिम्मा लगाउनु राज्यको दायित्व हो। हामी विश्वास गर्छौँ, यहाँको नेतृत्वमा सरकारले आफ्नो क्षमताले भ्याएसम्म त्यो जिम्मेवारी पूरा गरिरहेको होला। आगामी दिनमा पनि राज्यले कुनै कसर बाँकी राख्ने छैन भन्ने आशा गरेका छौँ।

तर, सम्माननीय प्रधानमन्त्रीज्यू,

हाम्रो परिवारको घडी भने १२ दिनदेखि एउटै ठाउँमा रोकिएको छ।

यही विनाशकारी बाढीले हाम्रा आफन्तहरूलाई खर्लप्पै निलेपछि हामी आज १२औँ दिनसम्म पनि भग्नावशेषमाथि आँखा गाडेर बसिरहेका छौँ। काठमाडौँदेखि विदुरसम्म भौँतारिँदै एउटा मात्रै प्रश्नको उत्तर खोजिरहेका छौँ, हाम्रा भाइ–बुहारी र चार वर्षका ती अबोध जुम्ल्याहा भदाभदैनी कहाँ छन्?

बाढीले त्रिशूली थ्री बीको आवास तथा कार्यालय भवन छोपिँदा हाम्रा भाइ इन्जिनियर राजेश शर्मा, बुहारी इन्जिनियर प्रमिला पाठक र चार वर्षका जुम्ल्याहा भदाभदैनीको अवस्था आजसम्म अत्तोपत्तो छैन। उनीहरूसँगै इन्जिनियर, कन्सल्टेन्टसहित देशकै ४३ जना अब्बल जनशक्ति उक्त आवास तथा कार्यालय भवनमा फसेको पुष्टि थ्री बी कम्पनीले यसअघि नै गरिसकेको छ।

प्रधानमन्त्रीज्यू, ४३ जना मानिस केवल एउटा संख्या होइनन्।

ती ४३ जनाका ४३ परिवार छन्। ४३ घरका सपना छन्। कसैकी आमा छिन्, कसैका बाबु छन्, कसैकी श्रीमती छन्, कसैका श्रीमान् छन्, कसैका सन्तान छन्। र हाम्रो परिवारका लागि ती ४३ मध्ये चार जना हाम्रो मुटु हुन्।

आज १२औँ दिनसम्म पनि भवन उत्खनन गरी उनीहरूको उद्धार गर्ने काम प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि हामी यो पत्र लेख्न बाध्य भएका छौँ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

पछिल्ला दुई दिन (शुक्रबार र शनिबार) हाइड्रोपावरको सुरुङ र बगरमा छोपिएको एउटा एक्लो घरबाट मानिसहरू जीवितै उद्धार भएको खबरले हाम्रो परिवारको निभ्न लागेको आशामा फेरि सानो उज्यालो बालिदिएको छ।

त्यसपछि मनले फेरि भन्न थालेको छ,  

सायद हाम्रा भाइ–बुहारी पनि जीवितै होलान्।

सायद ती चार वर्षका अबोध जुम्ल्याहा भदाभदैनीले अझै आफ्नी आमालाई खोजिरहेका होलान्।

सायद भग्नावशेषको कुनै कुनामा ४३ जनामध्ये कुनै एउटा जीवन राज्यको बलियो हातले आफूलाई बाहिर निकाल्ने प्रतीक्षामा होला।

यही झिनो आशाको त्यान्द्रो समातेर हामी आजसम्म पनि प्रतीक्षामा नै छौँ।

पुरिएका थ्री बीका ती ६ वटा भवनभित्र कतै जीवनको सानो धड्कन बाँकी छ कि भन्ने आशाले हामीलाई उनीहरूलाई मृत घोषणा गरेर बस्न दिएको छैन। यदि त्यहाँ एउटा मात्रै जीवन पनि बाँकी छ भने त्यसलाई बाहिर निकाल्नु हाम्रो परिवारको मात्र होइन, राज्यको पनि सबैभन्दा ठूलो परीक्षा हो।

राज्यले त्यहाँबाट एउटा जीवन पनि बचाउन सक्यो भने, त्यो केवल हाम्रो परिवारको जित हुनेछैन, त्यो राज्यको जित हुनेछ। मानवताको जित हुनेछ। आशाको जित हुनेछ।

प्रधानमन्त्रीज्यू,

तर दुःखका साथ भन्नुपर्छ, थ्री बीको त्यो बगरमा हामीले राज्यको उपस्थितिको अनुभूति गर्न सकेनौँ।

बाढी गएको पाँचौँ दिनदेखि सुरु भएको उद्धारको काम आज १२औँ दिनसम्म आइपुग्दा पनि अपेक्षित गतिमा अघि बढ्न सकेन। फिल्डमा रहेको नेपाली सेनाको उद्धार टोली, थ्री बी र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरू तथा त्यहाँ रहनुभएका पीडित परिवारका आफन्तहरूसँगको हाम्रो बारम्बारको कुराकानीले आवश्यक उपकरण र स्रोतसाधनको अभावमा उद्धार प्रयास प्रभावकारी बन्न नसकेको स्पष्ट हुन्छ।

प्रधानमन्त्रीज्यू, हामी अब कति दिन पर्खने?

हामीले अझै कति रात निदाउन नपर्ने?

अझै कति बिहान आँखा खोलेर त्यही भग्नावशेषतिर हेर्नुपर्ने?

अझै कति पटक ‘सायद आज केही खबर आउला’ भनेर फोन कुरिरहनुपर्ने?

कि अन्ततः हामीले आफ्नै मनलाई सम्झाउनुपर्ने हो, “हाम्रा भाइ–बुहारी र चार वर्षका ती अबोध बालबालिका अब फर्केर आउँदैनन्” भनेर?

यो कुरा स्वीकार्न हाम्रो मन मान्दैन, प्रधानमन्त्रीज्यू।

यदि बाढीले उनीहरूलाई कुम्लाएर लगेको भए, सायद आज हामी १२औँ दिनको शोकमा हुने थियौँ। तर उनीहरूलाई माटोले पुरेको हो भने, त्यो माटोमुनि अझै जीवनको एउटा सानो सम्भावना बाँकी छ कि भन्ने आशाले हामीलाई कुशको लाश बनाउन दिएको छैन।

र अब पनि दिने छैन।

हामीलाई थाहा छ, उद्धार सजिलो छैन। भग्नावशेष हटाउनु कठिन छ। बाटो अवरुद्ध छ। उपकरणको अभाव हुन सक्छ। प्रकृतिले चुनौती दिएको छ। तर राज्य भनेको कठिन परिस्थितिमै आफ्नो नागरिकको साथमा उभिने शक्ति होइन र, प्रधानमन्त्रीज्यू?

सम्भावनाहरू पहिल्याउँदै रातारात बाटो खुलाएर, आवश्यक जनशक्ति, अत्याधुनिक उपकरण र स्रोतसाधन तत्काल त्यहाँ पुर्‍याएर उद्धारको कामलाई तीव्रता दिन सकिँदैन र?

हामीलाई चमत्कार चाहिएको होइन।

हामीलाई आश्वासन मात्र पनि चाहिएको होइन।

हामीलाई प्रयासको गति चाहिएको छ। राज्यको बलियो हात चाहिएको छ।

हामीलाई हाम्रा आफन्तको सास वा लाश चाहिएको छ, प्रधानमन्त्रीज्यू।

किनकि एउटा परिवारका लागि अनिश्चितताको पीडा मृत्युको खबरभन्दा पनि कहिलेकाहीँ धेरै कठोर हुन्छ। मृत्युको खबरले आँसु झार्न सकिन्छ, शोक मनाउन सकिन्छ, अन्तिम संस्कार गर्न सकिन्छ। तर १२ दिनसम्म ‘सायद जीवित छन् कि?’ ‘सायद छैनन् कि?’ को बीचमा झुन्डिएर बस्नु कस्तो पीडा हो, त्यो भोग्ने परिवारले मात्र बुझ्न सक्छ।

प्रधानमन्त्रीज्यू, तपाईं हाम्रा लागि केवल प्रधानमन्त्री होइन, राज्य हुनुहुन्छ। तपाईं अभिभावक हुनुहुन्छ।

आफ्ना अभिभावकसँग सन्तानले गुनासो गर्छ। कहिलेकाहीँ रिसाउँछ। कहिलेकाहीँ आँसु झार्दै आफ्नो पीडा सुनाउँछ। तर अन्ततः उसले भरोसा गर्ने ठाउँ त्यही अभिभावक हो।

आज हामी पनि त्यही भरोसा बोकेर तपाईंको ढोकामा आइपुगेका छौँ।

हामीले हाम्रा बुवाआमालाई भन्दा बढी भरोसा र विश्वास गरेर यो पत्र लेखेका छौँ। हामीसँग अहिले आँसु छन्, पीडा छ र एउटा सानो आशा छ, राज्यले हामीलाई निराश बनाउने छैन।

हामीले १२ दिनसम्म प्रतीक्षा गर्‍यौँ।

अब यो प्रतीक्षाको फेरि परीक्षा नलिनुहोस्, प्रधानमन्त्रीज्यू।

यदि भग्नावशेषभित्र जीवनको एउटा सानो सम्भावना पनि बाँकी छ भने त्यसलाई बचाउन आवश्यक शक्ति प्रयोग गरिदिनुहोस्।

हाम्रा भाइ–बुहारी र ती अबोध चार वर्षका जुम्ल्याहा भदाभदैनीलाई खोजिदिनुहोस्।

थ्री बीमा फसेका ४३ जना नागरिकको अवस्था यथाशीघ्र सार्वजनिक गरिदिनुहोस्।

उनीहरूका परिवारलाई अनिश्चितताको यो यातनाबाट मुक्त गरिदिनुहोस्।

हामीलाई फेरि एकपटक राज्य भएको महसुस गराइदिनुहोस्।

हामी आज पनि त्यही भग्नावशेषतिर फर्केर हेरिरहेका छौँ,

सायद त्यहीँबाट कुनै आवाज आउला,

सायद कुनै हात बाहिर निस्किएला,

सायद हाम्रा आफ्ना मान्छेहरूले फेरि हामीलाई बोलाउलान्।

त्यो ‘सायद’लाई मर्न नदिनुहोस्, प्रधानमन्त्रीज्यू।

हाम्रो आशा नमारिदिनुहोस्।

हाम्रो प्रतीक्षालाई व्यर्थ नबनाइदिनुहोस्।

बिन्ती, हाम्रा आफन्तलाई खोजिदिनुहोस्।

धन्यवाद।

दिदीहरू:  

शारदा शर्मा

तारा शर्मा

र राजती शर्मा

बाग्लुङ–९, बाग्लुङ

प्रकाशित: २१ भाद्र २०८३ १४:१२ आइतबार