सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ जिरायत टोलमा आइतबार बिहान ठूलो भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
ब्रह्मस्थान सामुदायिक वन नजिकैको परबल बारीमा जंगली भाले हात्ती मृत भेटिएको हो। आज बिहान मृत अवस्थामा हाती फेला परेपछि स्थानीयमा त्राससँगै घटनाबारे चासो बढेको छ।
बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामाले ब्रह्मस्थान सामुदायिक वन नजिकै परबल बारीमा ठूलो भाले हात्ती मृत भेटिएको बताए।
हात्ती मृत अवस्थामा भेटिएको सूचना प्राप्त भएपछि घटनास्थलमा वन कर्मचारीको टोली परिचालन गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख विनोद सिंहले बताएका छन। हाती मृत्यु भएको घटना बारे थप अनुसन्धान तथा मृत हात्तीको अवस्थाबारे अध्ययन भइरहेको समेत उनले बताए।
जंगली हातिको मृत्यु बारे डिभिजन वन कार्यालय सर्लाही र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोली खटिएको छ।
टोलीले हात्तीको मृत्युको कारण पत्ता लगाउन घटनास्थलको अवस्था, हात्तीको शरीर तथा आसपासको वातावरणको अध्ययन गरिरहेको बताइएको छ।
वन्यजन्तु विज्ञ तथा प्राविधिक टोलीको अध्ययनपछि मात्रै हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हो वा मानवीय गतिविधि, विषादी, करेन्ट, रोग वा अन्य कारणले भएको हो भन्ने यकिन हुने बुझिएको छ।
बागमती नगरपालिका-४ सहित सर्लाहीका वन क्षेत्र आसपास पछिल्ला वर्षहरूमा जंगली हात्तीको आवतजावत हुने गरेको छ।
हात्ती जंगलबाट बाहिर निस्केर बस्ती तथा खेतीबालीमा प्रवेश गर्दा मानव-वन्यजन्तु द्वन्द्वका घटना समेत हुने गरेका छन्।
मृत भेटिएको हात्तीको उमेर, शारीरिक अवस्था र मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्ने छ।
प्रकाशित: १८ आश्विन २०८३ १३:०३ आइतबार





