२०७२ सालको विनाशकारी महाभूकम्पपछि गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण गरिएको ‘एकीकृत नमुना बस्ती’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ।
कुनै समय दुर्गम मानिने यस ऐतिहासिक गुरुङ बस्तीमा सडक सञ्जाल पुगेसँगै सार्वजनिक बस चल्न थालेका छन्।
यातायातको पहुँच सहज भएसँगै यहाँ दिनहुँजसो आन्तरिक पर्यटक पुग्ने गरेको स्थानीयले बताएका छन्।
२०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुरानो लाप्राक बस्ती पूर्ण रूपमा ध्वस्त बनाएको थियो। त्यसपछि २०७३ वैशाख १२ गते गैरआवासीय नेपाली संघ एनआरएनए, तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार यो नयाँ बस्ती निर्माण गरिएको हो।
धार्चे गाउँपालिका–४ स्थित गुप्सीपाखामा करिब ३२६ रोपनी क्षेत्रफलमा यो बस्ती फैलिएको छ। कुल ६०४ घरधुरी रहेको यस बस्तीमा ५७३ घर ‘एनआरएनए’ ले निर्माण गरेको हो भने बाँकी घर नेपाल सरकारको भूकम्प राहतबाट बनेका हुन्।
हेराैं तस्बिरमा, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक




















प्रकाशित: १० वैशाख २०८३ १७:०१ बिहीबार





