२१ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार शनिबार साँझ करिब ६ः२० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

पहिरोका कारण उक्त सडक खण्डमा सवारीसाधन आवतजावत रोकिएको छ। यस्तै नजिकैको एसमोडमा पनी भर्खर पहिरो आएको जनाइएको छ।

पहिरो पन्छाउनको लागी एक्स्काभेटर पहिरो स्थलमा पुगिसकेको र पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन प्रमुख श्रवण महताराले जानकारी दिए।

एक्स्काभेटर पहिरो स्थलमा पुगिसकेको छ। पहिरो पन्छाएर सवारी साधन सञ्चालन हुने महताराले बताए।

यस्तै, खाँडाचक्र नगरपालिका–६ को वित्ता मोडमा समेत ठूलो पहिरो गएको प्रहरीले जनाएको छ।

कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालीकोटले आग्रह गरेको छ।

वर्षा भइरहेका बेला सडक माथिबाट पहिरो, ढुंगा तथा लेदो खस्ने सम्भावना रहेकाले जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन तथा सडकको अवस्था बुझेर मात्र यात्रा सुरु गर्न प्रहरी प्रमुख हिमबहादुर खत्रीले अनुरोध गरेका छन्।

प्रकाशित: २१ भाद्र २०८३ १७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App