विगत दुई महिनादेखि उदयपुरका पशुचौपायामा महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणको चरणमा प्रवेश गरेको छ।
जिल्लाका आठवटै स्थानीय तहमा फैलिएर किसानलाई चिन्तित बनाएको यो रोगविरुद्ध सञ्चालित खोप तथा उपचार अभियान प्रभावकारी बन्दै गएपछि नियन्त्रण उन्मुख भएको हो।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, गाईघाटका प्रमुख शुक्रराज लिम्बुका अनुसार रोग नियन्त्रणका लागि गाउँ तथा नगरका पशु शाखा, ज्ञान केन्द्र र संघसम्मका प्राविधिकहरूलाई परिचालन गरिएको छ।
‘केही दिनयता रोग नियन्त्रणको क्रममा छ,’ प्रमुख लिम्बुले भने, ‘जिल्लाभर एकैपटक रोग फैलिँदा स्थानीय तह र भेटेरिनरीका प्राविधिकले मात्रै सम्भव नभएपछि प्रदेशबाट समेत पशु चिकित्सक बोलाएर उपचारमा खटाइएको छ।’
तीन वर्षअघि पनि देखिएको यो रोग यसपटक जिल्लाका ४ नगरपालिका (त्रियुगा, बेलका, चौदण्डीगढी, कटारी) र ४ गाउँपालिका (लिम्चुङबुङ, ताप्ली, रौतामाई, उदयपुरगढी) मा फैलिँदा केही पशुचौपाया मरेका थिए भने हजारौँ सङ्क्रमित भएका थिए।
प्रमुख लिम्बुका अनुसार सबैभन्दा बढी चौदण्डीगढी, कटारी, बेलका र त्रियुगा नगरपालिका तथा गाउँपालिकाहरूमा ताप्ली र लिम्चुङबुङ बढी प्रभावित भएका छन्।
केन्द्रका अनुसार, रोग नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिकामा ३,५००, कटारीमा ३,१००, बेलकामा २,८०० र त्रियुगामा २,२०० डोज खोप पठाइएको छ।
त्यसैगरी, गाउँपालिकातर्फ लिम्चुङबुङमा १,९००, ताप्लीमा १,८०० भाइल, उदयपुरगढीमा ३०० र रौतामाईमा ३५० डोज खोप उपलब्ध गराइएको केन्द्रले जनाएको छ।
दुई महिनाअघि जिल्लामा फाट्टफुट्ट रूपमा देखिएको यो रोग सबैभन्दा पहिले त्रियुगा नगरपालिका–१५, खाँबुमा देखा परेको थियो।
स्थानीय पशु स्वास्थ्यकर्मी कुलशेर राईका अनुसार, सुरुमा खाँबु रातमाटेका किसान अम्बरबहादुर मगर र टीका मगरको गोठमा देखिएको रोग सातादिनभित्रै गाउँभरि फैलिएको थियो।
‘‘सुरुमा उपचारमा खट्दाखट्दै रोग सबैतिर फैलियो, तर अहिले यो क्षेत्रमा लगभग नियन्त्रणमा आइसकेको छ,’ राईले बताए।
प्रकाशित: ३० असार २०८२ १४:४५ सोमबार





