हरितालिका तीजको समापनसँगै नेवार समुदायको ऐतिहासिक ‘भदौरे जात्रा’ अन्तर्गतको लाखे नाचलाई वर्षदिनका लागि बिदाइ गरिएको छ।
पर्वतको कुश्मास्थित ऐतिहासिक ‘शताब्दी घर’ को आँगनमा सोमबार साँझ यस वर्षको अन्तिम लाखे नाच प्रदर्शन गर्दै परम्परागत बर्खे जात्राको औपचारिक मैजारो गरिएको हो।
पुरानो बजार क्षेत्रमा सक्रिय लाखे एकीकृत समाजको आयोजनामा सम्पन्न यो प्रदर्शनीसँगै यस वर्षका लागि लाखे नाच विसर्जन गरिएको स्थानीयवासी जयन्द्रकुमार जोशीले जानकारी दिए।
कुश्मामा साउन कृष्ण औँसी (भुते औँसी) देखि सुरु भएर तीजसम्म लाखे नचाउने परम्परा छ। करिब अढाई सय वर्षअघि भक्तपुरबाट बसाइँ सरेर आएका नेवार समुदायले कुश्मामा यो सांस्कृतिक थिति बसालेका थिए।
लाखे नाच नेवार समुदायको अगुवाइमा भए पनि यसको व्यवस्थापन र उत्सवमा कुश्मावासी सबै जातजातिको साझा सहभागिता रहने गर्दछ। तर, संरक्षण अभावका कारण भदौरे जात्राभित्रै पर्ने ‘बकुल्ला नाच’ र ‘हनुमान नाच’ भने लोप हुने अवस्थामा पुगेको संस्कृतिकर्मी शान्तिनारायण श्रेष्ठले बताउँछन्।
लाखे एकीकृत समाजका कार्यक्रम संयोजक रजतमान श्रेष्ठले किंवदन्ती अनुसार भूतप्रेतको बाधा–अड्चनबाट मानव जीवनलाई बचाउन सुरु गरिएको यो नाचलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने खाँचो औंल्याए।
मौलिक कला-संस्कृति संरक्षणका अभियन्ता आरके अदीप्त गिरीले लाखे नाच अमूर्त सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै यसलाई जोगाउन समुदायको प्रयास मात्र पर्याप्त नहुने भएकाले राज्यले नीतिगत सहयोग गर्नुपर्ने बताए।
उनका अनुसार सदियौं पुराना सम्पदाको संरक्षण गर्ने थलोका रूपमा विकास गरिएको ‘शताब्दी घर’मा अब विभिन्न समुदायका रैथाने नाचगानलाई जोडेर मासिक सांस्कृतिक शृङ्खला सञ्चालन गरिनेछ।
गठेमङ्गलमा सुरु भएर तीजमा अस्ताउने लाखे नाचमा ‘हिँडाउने’, ‘पड्ताल’, ‘भोटेसेलो’ र ‘झ्यारी’ गरी चार तालमा राक्षसको मुखुण्डोसहित कलाकारहरू नाच्ने गर्छन्।
संस्कृतिकर्मी प्रेम छोटाका अनुसार भक्तपुर, धुलिखेल र भादगाउँबाट आएका नेवारहरूले पर्वत र बागलुङमा यो परम्परा भित्र्याएका हुन्। आधुनिकतासँगै पुराना नाचप्रतिको आकर्षण घट्दै जाँदा यस्ता अमूल्य रैथाने संस्कृतिको अस्तित्व रक्षामा भने चुनौती देखिएको छ।
प्रकाशित: ३० भाद्र २०८३ १६:०८ मंगलबार

