१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै कामपा

काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सिसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ।

कामपाको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार वडा कार्यालयहरूमा सिसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटिटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्टरनेट उपलब्ध गराउने तयारीका टेलिकमसँगको सहकार्य अघि बढाइएको हो।

सिसीटिभी क्यामराका कैद भएका दृश्यलाई प्रत्येक निगरानी कक्षसम्म पुर्‍याउनका लागि कामपा र नेपाल टेलिकमसँग सम्झौता समेत भइसकेको छ। यससँगै नियमित मर्मतसम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि टेलिकमले सेवा उपलब्ध गराउनेछ।

सिसीटिभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ। टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको ब्यान्डविथ उपलब्ध गराउने छ। त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ।

प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा ल्याउन कामपाले यस कार्य अघि बढाएको काफ्लेले बताए।

टेलिकमसँग यसअघि अप्टिकल फाइबर सञ्जाल भएकाले महानगरपालिकाले तत्काल आफूले यसअघि जडान गरेका सिसीटिभीका दृश्यहरू प्राप्त गर्न सक्ने अवस्था रहेको कामपा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिए।

सिसीटिभी क्यामराले कैद गरेका दृश्यहरू महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भिलेन्स रुम) मा पुर्‍याउने दायित्व टेलिकमले पूरा गर्नेछ। प्रणालीमा यसअघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सिसीटिभी जोड्न सकिनेछ।

काठमाडौंलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो। यसअनुसार कामपा वडा कार्यालय र यसभित्रका सार्वजनिक स्थलको दृश्य सिसीटिभी निगरानी कक्ष (सिसीटिभी सर्भिलेन्स रुम) मा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जिपीओएन) प्रयोग गरिनेछ। रासस

प्रकाशित: २९ कार्तिक २०८२ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App