दसैँको चहलपहल सुरु भएयता साढे पाँच लाखले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबार बिहानसम्म पाँच लाख ५३ हजार २६१ जना दसैँ मनाउन आ-आफ्नो गाउँ गएका हुन् ।
काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।”
दसैँ मनाउन गाउँ गएपछि काठमाडौंका सडक भने सुनसान बनेका छन् । सधै चाप देखिने काठमाडौंका सडकमा न्युन संख्यामा मात्र सवारी साधन चलेका छन् । निजी सवारी साधनका तुलनामा सार्वजनिक सवारी साधनसमेत कलेपछि यात्रुलाई समस्या भएको छ ।
साथै दसैँको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।
प्रकाशित: १४ आश्विन २०८२ १७:५४ मंगलबार




-600x400.jpg)
