२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

पर्यटकलाई दुःख दिनेविरुद्ध कास्की प्रहरीको एक्सन: चार दिनमा १९ महिला पक्राउ

पर्यटनकीय राजधानी पोखरामा पर्यटकलाई दुःख हैरानी दिनेविरुद्ध कास्की प्रहरीले एक्सन सुरु गरेको छ। प्रहरीले पोखरा–६ लेकसाईडबाट पर्यटकलाई अनावश्यक सास्ती दिने १९ जना महिलालाई पक्राउ गरेको हो।

स्थानीयले दिएको सुराकीका आधारमा वैशाख ५ गते शनिबार पहिलो दिन १६ जना र  मंगलबार थप ३ महिला पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए। पर्यटकलाई दुःख हैरानी दिने क्रम बढ्दै जान थालेपछि एक्सनमा उत्रनु परेको उनको भनाइ छ।  

पक्राउ परेका ती महिलाहरूले पर्यटकलाई विभिन्न प्रलोभन देखाएर फसाउने, लुटपाट र अनैतिक क्रियाकलापसमेत गर्दै आएको प्रहरीले जनाएको छ।

आन्तरिक तथा बाह्य दुवै खाले पर्यटकलाई दुःख दिने गरेको पाइएको सूचना अधिकारी पाण्डेले बताए। ‘आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई दुःख दिने गरेका रहेछन्’, उनले भने।

खास गरेर मध्यरातदेखि बिहानको समयसम्म अनुगमन गर्ने गरिएको उनले बताए। पहिलो दिन वैशाख ५ गते मध्यरात १२ः३० बजेदेखि बिहान २ बजेसम्म र दोस्रो दिन मंगलबार बिहान २ः३० बजे अनुगमन गर्दा ती महिलाहरूलाई पक्राउ गरिएको हो। अब यो अनुगमन नियमित र कडाइका साथ हुने उनले बताए।

पक्राउ गरिएकाहरूलाई सम्झाई बुझाई गरी छाडिएको सूचना अधिकारी पाण्डेले बताए।‘पहिलो पटक पक्राउ परेका र नाबालिगको हकमा सम्झाई बुझाई छाड्ने गरेका छौँ’,उनले भने,‘फेरी फेरी नदोहोरिने सर्तमा छाड्ने गरेका छौँ। दोहोरियो भने चाहिँ मुद्दा चलाइनेछ।’

प्रकाशित: ८ वैशाख २०८३ १८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App