९ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

कात्तिकमा बिदै–बिदा, १२ दिनमात्र सरकारी कार्यालय खुल्ने

दसैं–तिहारका पर्व बिदा र साप्ताहिक बिदा एकैपटक परेपछि कात्तिक महिनामा सरकारी कार्यालय, बैंक तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू १२ दिनमात्र खुल्ने भएका छन्। ३० दिनको कात्तिकमा १८ दिन कार्यालय बन्द रहनेछन्।

लगातार नौ दिनको सार्वजनिक बिदापछि सोमबारदेखि सरकारी कार्यालय, बैंक तथा अन्य सार्वजनिक सरोकारका निकाय खुलेका छन्।

कार्यालय सञ्चालन नियमित हुन भने अझै केही समय लाग्नेछ। यो साताको शुक्रबारसम्म कार्यालय खुलेपछि त्यसपछिको शनिबार र आइतबार फेरि बन्द रहनेछ।

कात्तिक १५ गतेदेखि २० गतेसम्म कार्यालय खुल्नेछ। त्यसपछि पाँच दिन कार्यालय सञ्चालनमा आएलगत्तै छ दिन बिदा पर्नेछ।

तिहारपछि कात्तिक २७ गते शुक्रबार र ३० गते सोमबारमात्र कार्यालय सञ्चालनमा आउनेछन्।

यस वर्ष दसैंअघि लगातार नौ दिन सार्वजनिक बिदा परेको थियो। यस अवधिमा चार दिन साप्ताहिक बिदा र पाँच दिन पर्व बिदा परेका थिए। यसअघि २०८१ सालमा दसैंअघि लगातार पाँच दिन र २०८२ सालमा छ दिन सार्वजनिक बिदा परेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि २०८२ चैत २३ देखि शनिबारसँगै आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको थियो। यो व्यवस्थालाई सरकारले तत्काल पुनर्विचार नगर्ने स्पष्ट पारेको छ।

शनिबार र आइतबारको नियमित बिदासँगै पर्व तथा दिवसका बिदा पनि यथावत् राखिँदा वर्षभरि कार्यालय खुल्ने दिन घटेका छन्।

कार्यालय बिहान ९ बजेदेखि नै खुल्ने भएपनि सेवाग्राही भने १० बजेपछिमात्रै पुग्ने गरेका छन्। यसले सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्न सकिरहेको छैन।

*यसअघि राखिएको समाचारमा सरकारी कार्यालय १२ दिनमात्र खुल्ने हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ- सम्पादक

प्रकाशित: ९ कार्तिक २०८३ १५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App