२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

लेदो पन्छाएपछि एकतर्फी खुल्यो कर्णाली राजमार्ग

यात्रु भन्छन्– ‘ज्यानको जोखिम मोलेर यात्रा कहिलेसम्म ?’

अविरल वर्षापछिको पहिरोले अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

कालिकोटको गगने खोलामा मंगलबार दिउँसोदेखि लेदोसहितको पहिरोले अवरुद्ध सडक बुधबार बिहान करिब ११ बजेतिर खुलाइएको हो।

सडक खुलेपछि रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागे पनि यात्रुहरूले भने ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य नभएको गुनासो गरेका छन्।

सडक डिभिजन कार्यालय, जुम्लाका अनुसार, पहिरो पन्छाउन बुधबार बिहान ७ बजेदेखि नै दुईवटा जेसिबी मेसिन परिचालन गरिएको थियो। यद्यपि, राजमार्गको यो खण्डमा पहिरो झर्ने र सडक अवरुद्ध हुने क्रम चलिरहेको छ, जसले यात्रुलाई निरन्तर सास्ती दिइएको छ।

‘पहिरो झर्छ, मेसिनले पन्छाउँछ। केही समय सडक खुल्छ, फेरि बन्द हुन्छ,’ जुम्लादेखि सुर्खेततर्फ यात्रा गरिरहेकी यात्रु ज्योतीसरा बुढाले भनिन्, ‘सडकको कुनै ठेगान छैन। सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई समस्या छ। माथिबाट ढुंगा खस्ने डरले बाहिर निस्कन पनि सकिँदैन।’

अर्का यात्रु धन्ननाल रावतले मुलुक संघीयतामा गए पनि कर्णालीवासीको दुःख अन्त्य हुन नसकेको गुनासो गरे। ‘ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट कर्णालीबासी कहिले मुक्त हुने ?’ उनले प्रश्न गरे।

सडक डिभिजन कार्यालयले पहिरोको उच्च जोखिम रहेको कालिकोटकै हुल्मदै खोला खण्डमा दुईवटा जेसिबी मेसिन तयारी अवस्थामा राखेको जनाएको छ।

मंगलबार र सोमबार खाँडाचक्र र तिलागुफा नगरपालिकाका अन्य तीन स्थानमा झरेको पहिरो पनि हटाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै सुर्खेतबाट जुम्ला, मुगु, बाजुरा, हुम्लातर्फ जाने र त्यहाँबाट सुर्खेत फर्कने सयौँ रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित: २१ श्रावण २०८२ २१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App