गए रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको चौधर नदीमा आएको बाढीले कटान गर्दा बेदकोट नगरपालिकास्थित झोलुङ्गे पुल ढलेको छ।
पुल खसेसँगै नजिकै रहेको पक्की पुलसमेत नदी कटानका कारण उच्च जोखिममा परेको छ भने यता महाकाली नदीमा जलसतह बढेपछि नेपाल-भारत सीमा जोड्ने वनवासास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमन रोकिएको छ।
बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दका अनुसार बेदकोट-३ र ४, घटानथान जोड्ने चौधर नदीको झोलुङ्गे पुल आसपासका संरचना नदीले कटान गरेपछि पुल खसेको हो।
बाढीको तीव्र कटानले नजिकै रहेको पक्की पुललाई समेत जोखिममा पारेको उनले जानकारी दिए।
निरन्तरको वर्षाले पालिकाभित्रका अधिकांश खेतबारी डुबानमा परेका छन्। नदी तथा खोलानालामा पानीको सतह निरन्तर बढिरहेकाले नगरपालिकाले नगर प्रहरी र वडाध्यक्षहरूमार्फत तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बेदकोट-४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले खसेको झोलुङ्गे पुल पहिलेदेखि नै जोखिममा रहेको बताए। ‘गत वैशाखमा बसेको नगर कार्यपालिका बैठकमा पुल जोखिममा रहेकाले मर्मत गर्नुपर्ने कुरा उठाएका थियौँ,’ उनले भने, ‘वडाको बजेटबाट मर्मत सम्भव नभएकाले नगरपालिकासँग समन्वय गरिरहेकै अवस्थामा बाढीले संरचना ढलायो।’
यसैबीच, अविरल वर्षासँगै महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेपछि भारतीय पक्षले वनवासास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख जीवन गुरुङका अनुसार शनिबार साँझ ५ बजेको जलमापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ।
महाकालीमा बहाव १ लाख क्युसेक नाघ्नासाथ भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे गाडी सञ्चालनमा रोक लगाउने गर्दछ।
मौसम पूर्वानुमान महाशाखाले जिल्लाका बेदकोट, भीमदत्त र दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सूचना जारी गरेको छ।
महाशाखाले नदी आसपासका क्षेत्रमा निगरानी बढाउन, तटीय समुदायलाई पूर्वसूचना दिन र आवश्यक पूर्वतयारीमा जुट्न सरोकारवाला सबै निकायलाई आग्रह गरेको छ।
प्रकाशित: २१ भाद्र २०८३ २२:१७ आइतबार





