पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–मान्म सडकखण्ड सोमबार मध्यरातपछि सञ्चालनमा आएको छ।
शनिबार बेलुकी ७ बजे गएको पहिरोका कारण बन्द सडक सोमबार राति पौने १ बजेदेखि खुलाइएको हो।
सेरावाडा, सिम्ले र सिम्ले मोडमा गएको पहिरो हटाउन सडक डिभिजन कार्यालय जुम्लाले चौबिसै घण्टा मेसिन र प्राविधिक टोली परिचालन गरेको थियो।
पिली खण्डमा ग्याबिनसहितको वाल लगाएर सडक सञ्चालनमा ल्याइएको निमित्त प्रमुख सर्वणकुमार महाताराले बताए।
‘पिली खण्ड निकै कठिन थियो, तर निरन्तर प्रयासपछि सडक खुलाउन सफल भयौँ,’ उनले भने।
भदौ महिनायता कालिकोट–जुम्ला सडक खण्डमा १० भन्दा बढी साना–ठुला पहिरो गइसकेका छन्। सबैभन्दा बढी समस्या गगनेखोलामा देखिएको छ, जहाँ हरेक दिनजसो पहिरो खसिरहेको सडक डिभिजनले जनाएको छ।
मान्म–जुम्ला सडक खुलेपनि गगनेखोलाको पहिरो हटाउन काम जारी छ। निरन्तर वर्षा र माथिबाट लेदो तथा ढुंगा खसिरहेकाले सडक सञ्चालन चुनौतीपूर्ण बनेको छ।
मौसम अनुकूल भए मंगलबार दिउँसो २ बजेसम्म कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको महाताराले बताए।
सडक पूर्ण रूपमा सुरक्षित नभएसम्म यात्रुलाई सावधानी अपनाउन सडक डिभिजनले आग्रह गरेको छ।
प्रकाशित: २३ भाद्र २०८३ १३:०१ मंगलबार





