कर्णालीकै ठूलो र लामो मानिने जुम्लाको ऐतिहासिक जात्रालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले जात्रा अवधिभर मदिरा बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सोमबार बसेको सर्वपक्षीय बैठकले जात्रालाई सुरक्षित र सभ्य बनाउन अन्य विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको जात्रा व्यवस्थापन समिति, सरोकारवाला निकाय र नागरिक समाजको संयुक्त बैठकले यही साउन २५ गतेदेखि सुरु हुने जात्रा अवधिभर मदिराको बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो।

बैठकले जात्रालाई व्यवस्थित गर्न अन्य जिम्मेवारी पनि बाँडफाँट गरेको छ। जात्रा अवधिभर खलङ्गामा खानेपानी आपूर्ति सुनिश्चित गर्ने जिम्मा खलङ्गा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघलाई दिइएको छ। त्यसैगरी, जनस्वास्थ्य सेवा कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकाले संयुक्त रूपमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नेछन्।
शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मा जिल्ला प्रहरी कार्यालयले लिनेछ भने नेपाल विद्युत प्राधिकरणले निर्वाध विद्युत आपूर्ति गर्नेछ।
जात्रामा हुन सक्ने विकृति रोक्न नगरपालिकाले मुख्य स्थानमा सीसीटीभी क्यामेरा जडान गर्ने र आपतकालीन अवस्थाका लागि वैकल्पिक मार्ग तय गरिने निर्णय भएको छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारीलाई जात्रा क्षेत्रमा प्रवेश निषेध गरिनेछ।
प्रमुख जिल्ला अधिकारी शर्माले संस्कृतिको संरक्षण गर्ने नाममा देखिने विकृति हटाएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए। उनले जात्रालाई सभ्य बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
वि.सं. १९५३ मा कृष्णवीर श्रेष्ठको पालादेखि सुरु भएको मानिने यो जात्रा आठ दिनसम्म चल्छ। स्थानीय चित्रलाल श्रेष्ठका अनुसार जात्राको पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिन सानो पल्टन र त्यसपछि ठूलो पल्टन तथा बाघ-भालु जात्रा जस्ता मौलिक प्रस्तुतिहरू देखाइन्छ।
हुड्के नाचदेखि मिमबास्सा र पल्टन जात्रासम्म प्रदर्शन गरिने यो जात्रा हेर्न कर्णालीका विभिन्न जिल्लाका साथै नेपालगन्ज र काठमाडौंबाट समेत दर्शकहरू आउने गर्छन्। यसलाई कर्णाली प्रदेशको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा लिइएको छ।
प्रकाशित: १९ श्रावण २०८२ २१:१९ सोमबार





