भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परिवारका ५ जना सदस्य गुमाएका पत्रका निराजन पौडेलले जीवनकै सबैभन्दा ठूलो पीडा व्यहोर्नुपरेको छ।
भदौ १० गते बिहान चीन हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीले उनको घर मात्र लगेन परिवारै बेपत्ता बनायो। लामो समय खोजीका लागि भौतारिँदा समेत परिवारको कुनै पनि जानकारी पाएनन्। उनले आफ्ना आमाबुवा, अंकल–अन्टी र बहिनीसँगको पुनर्मिलनको आशा हराउँदै गएपछि कुशको शव बनाएर अन्त्येष्टि गरेर काजक्रिया पनि सक्काएका छन्।
भदौ १० गतेको बाढीलाई आफ्नो जीवनको ‘कालरात्रि’का रूपमा स्मरण गर्दै पौडेलले निमेषभरमै आफ्नो घर, परिवार र भविष्यका सपना बाढीले बगाएको बताएका छन्।
‘भोटेकोशीमा आएको त्यो उन्मत्त बाढीले निमेषभरमै मेरो संसार उजाडिदियो,’ पौडेलले सामाजिक सञ्जालमार्फत पीडा पोखेका छन्, ‘जहाँ हिजोसम्म मेरो बाल्यकाल हाँसेको थियो, जहाँ आमाको ममता र बुवाको छहारी थियो, आज त्यहाँ केवल ढुङ्गा र बालुवाको मुटु काप्ने बगर मात्र बाँकी छ।’
बाढीले उनका आमा–बुवा, अंकल–अन्टी र बहिनीलाई सधैँका लागि आफूबाट टाढा लगेको छ। बाढीले घर मात्र नभई आफ्नो अस्तित्व र भविष्यका सपनासमेत पुरिएको उनले बताएका छन्।
हराएका आफन्त फर्केर आउने आशामा सात दिनसम्म पर्खिए पनि अन्ततः रित्तो हात काजकिरिया गर्नुपरेको पौडेलले उल्लेख गरेका छन्। काजकिरिया सकिए पनि मनभित्रको पीडा र बेचैनी अझै शान्त नभएको उनको भनाइ छ।
यस कठिन घडीमा सान्त्वना, समवेदना र सहयोग गर्नेहरूप्रति उनले गहिरो आभार व्यक्त गरेका छन्। मोबाइल, सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटेर आफूलाई साथ दिने सबैको माया र ढाडसले अन्धकारमा सानो दियोको काम गरेको उनले बताएका छन्। ‘दुःखमा मल्हम लगाउने र साथ दिने प्रिय मनहरूप्रति म सधैँ ऋणी रहनेछु,’ उनले लेखेका छन्।
बाढीले गाउँ नै बगरमा परिणत भएको दृश्य सम्झँदा आफू सम्हालिन नसक्ने पौडेलले बताएका छन्। अरूको सामान्य दुःखमा समेत भावुक हुने आफ्नो मनले अहिले आफ्नै परिवार गुमाउँदाको ‘पहाडजत्रो पीडा’ बोकेको उनले उल्लेख गरेका छन्।
बाढीपछिको अवस्थाप्रति राज्यको भूमिकाप्रति समेत पौडेलले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारबाट अब आफूले कुनै अपेक्षा नराखेको बताएका छन्। ‘अभिभावकविहीन भएको महसुस त भएकै थियो, तर राज्यको उपस्थिति नदेख्दा झनै रित्तो महसुस हुँदो रहेछ,’ उनले लेखेका छन्।
यद्यपि, आफू हार नमान्ने पौडेलको दृढता छ। आफ्ना पाँचै जना प्रिय सदस्यको सम्झनालाई शक्तिमा बदलेर पुनः आफ्नै प्रयासमा उठ्ने उनले संकल्प गरेका छन्। ‘सरकारसँग त अब मेरा कुनै अपेक्षा बाँकी रहेनन्। अभिभावकविहीन भएको महसुस त भएकै थियो, तर राज्यको उपस्थिति नदेख्दा झनै रित्तो महसुस हुँदो रहेछ। तैपनि, म हार्ने छैन। मेरा पाँचै जना प्यारा सदस्यहरुको सम्झनालाई शक्ति बनाएर म पुनः आफ्नै प्रयासमा उठ्ने संकल्प गर्दछु। शरीर शिथिल छ, मन छियाछिया छ, तर पनि म बाँच्नका लागि र फेरि उठ्नका लागि आफूलाई बलियो बनाउँदैछु। मलाई यो कठिन घडीमा सम्झिने सबैप्रति पुन: हार्दिक कृतज्ञता। तपाईंहरुको माया नै मेरो बाँकी जीवनको सहारा बन्नेछ,’ पौडेलले लेखेका छन्।
प्रकाशित: २४ भाद्र २०८३ ०९:४० बुधबार

