१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

प्राकृतिक साैन्दर्यले भरिपूर्ण पातारासीकाे ‘खाली पाटन’

जुम्ला प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। जुम्लाको हरेक कुनाकन्दरामा सुन्दरता छ। हिमाल, विभिन्न पाटन र अग्लो भौगोलिक अवस्थामा प्रकृतिले जुम्लालाई सुन्दर वरदान नै दिएको छ।प्रकृतिले सुन्दरता थपेको मनोरम क्षेत्र हो। जुम्ला भन्नेबित्तिकै मनमा विकट, गरिबी, रोग, भोक र अशिक्षा आउँछ।

भन्ने र बुझाउनेले पनि जुम्ला बाहिर पुगेर त्यस्तै बुझाए तर यथार्थमा त्यो छैन। कोल्टे फेर्दै छ जुम्ला तर यहाँको भूबनोट र प्रचारप्रसारको कमीले मात्र हो। साँच्चिकै जुम्लालाई भूस्वर्ग भन्न पनि सकिन्छ। जुम्ला पुगेर अध्ययन गरेकाहरू भन्छन्, ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण जुम्लाको सुन्दरता चिनाउन सके सिंगो कर्णालीलाई पाल्ने सामर्थ्य छ। पर्यटनको प्रचुर सम्भावना भएका जुम्लामा दर्जनौं स्थान छन् तर अधिकांश ओझेलमा। यसको विकाससँगै प्रचारप्रसार हुन सकेको छैन। सरकारी उदासीनता र भौगोलिक जटिलताले हो।

जुम्लाका सम्भावनाहरू सधैं ओझेलमा परेका छन्। त्यसैले सिरानीमा सुन हालेर नुनको खोजीमा हिंडिरहेको कर्णाली सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ।

यस्तै जुम्लाको सदरमुकाम खलंगादेखि झण्डै एक घण्टाको सडक यात्रापछि पातारासी गाउँपालिका -७ मा अवस्थित खाली पाटनमा पुगिन्छ।

सदरमुकाम खलंगा, उर्थु बजार र पट्मारा गाउँ हुँदै सडक जान्छ। त्यो पाटन साविकको पट्मारा गाविस र अहिलेको पातारासी-७ वडा पर्छ, खाली पाटन। यस पाटनको नाम नै 'खाली पाटन' हो। अहिले त्यो ठाउँमा डाँडाहरूले फैलिएका हरियाली सुन्दर चौरले पर्यटकको मन लोभ्याउँछन्।

वर्षा याममा प्राय: भेडाबाख्रा र गाईवस्तु चरिरहन्छन्। हिउँदमा हिउँले ढपक्कै ढाकिएर सेताम्मे हुने गर्छ, यही पाटन हुँदै पर्यटकहरू मुगुको राराताल पुग्छन्। रारा जाने सडक नै खाली पाटनको बीचैमा पर्ने भएकाले यो ठाउँ पर्यटकहरूको विश्रामस्थल जस्तै बनेको छ।

उक्त पाटनको रारा जाने बिच बाटोमा एक दर्जन होटेल पनि छन्। अहिले १ महिनामा १ हजारभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको होटेल व्यवसायी ललिता थापा बताउँछिन्। उनले थपिन्, 'हाम्रो व्यवसाय पनि राम्रोसँग भइरहेको छ।'

असारदेखि असोज पन्ध्र सम्ममा पर्यटकलाई खुवाउन, व्यवस्थापन गर्न कठिन हुने व्यावसायीहरू बताउँछन्। उनले भनिन्, 'फोटो खिच्न,टिकट बनाउन, पाटनको जडिबुटी हेर्न, अनुसन्धान गर्ने पर्यटकहरू पुग्छन्। जिपमा यात्रा गर्नेहरू पनि फोटो खिच्न यो पाटनमा ओर्लिने गरेका हुन्छन्।'

पछिल्लो समय यो ठाउँ पिकनिक स्पटको रूपमा पनि परिचित भएको स्थानीय राममाया बुढा बताउँछिन्। जिल्ला गैरसरकारी र सरकारी कार्यालयको पिकनिक गर्न शनिबारतिर जान्छन्। डोफाड्ना, बलिफिर, डोरपाटन, झुलारुख पाटन र डाँफे लेकले घेरिएको खालीपाटन प्राकृतिक सौन्दर्यले निकै लोभलाग्दो छ, बुढापाकाका अनुसार तत्कालीन राजा वीरेन्द्र जुम्लादेखि घोडा चढेर राराताल जाने क्रममा एक रात बास बसेको ठाउँ भएकाले पनि खाली पाटन नजिकैको मैदानलाई राजा चौरु भनिन्छ।

यस क्षेत्रमा भुजपत्र, ठिंगो सल्लो र खर्सुका रुखहरू प्रशस्त पाइन्छ। साथै बटुवालाई पानी पिउन ठाउँठाउँमा पानीका मुहान भेटिन्छन्। यस क्षेत्रमा सेतो चिमालो लगायत झण्डै ४० भन्दा बढी प्रजातिका फूल फुल्ने गरेका छन्। अतिस, भुल्ते, सतुवा, कटुको, पाँचऔंले, बायोजडी, गन्नाइनो, चुक, तितो लगायतका सागहरू पनि पाटनमै पाइन्छ।

यो सिजनमा त ठूलो संख्यामा किसानहरू साग टिप्न पाटनतिरै भेटिन्छन्। डाँफे, कालिज, बनकुखुरादेखि च्याखुराहरूको बासस्थान मानिने यस क्षेत्र दुर्लभ मानिएको रेड पाण्डाको पकेट क्षेत्र पनि हो।

नजिकैको जंगलमा रेडपाण्डाको अनुसन्धान पनि भइरहेको छ। जुम्ला सदरमुकामदेखि खाली हुँदै रारा जाने सडक निकै छोटो पर्ने भएकाले पछिल्लो समय पर्यटकहरूको प्रमुख रोजाइ पनि बनेको छ खाली पाटन।

प्रकाशित: १ भाद्र २०८२ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App