२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

हियाखाेला ज्युलाेमा चार वर्षपछि पुग्यो सिँचाइ: किसान उत्साहित

२०७९ सालमा अविरल वर्षासँगै आएको बाढीले जुम्लाको तातोपानी गाउँपालिका-६ मा पर्ने हियाखाेलाकाे स्थानीयकाे कुलो भत्कायाे। कुलो नभएपछि उक्त गाउँका स्थानीयले हियाखाेला ज्युलाेमा धान राेप्न पाएनन्।

धेरै जमिन बाँझिएको थियो। हरेक वर्ष ५ राेपेनी कालीमार्सी धान राेप्ने हियाखोला गाउँका हर्क कामी सिँचाइ नहुँदा हैरान भए। सिँचाइ गर्न नपाउँदा खेत बाँझिएको बताए।

यस्तै खड्क विष्टले भने,´कुलो भत्किएपछि गाउँमा भाेकमारी लाग्यो। हियाखोला गाउँका झन्डै ७० घरधुरीका किसानहरू सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था भयो। हरेक वर्ष हियाखोला ज्युलाेमा मार्सीधान लहलहाउँदो फलिरहेको हुन्थ्यो।

किसानहरू खेतहरूमा जाँदा उत्साहित भएर घर फर्किरहेका हुन्थे तर अहिले सिँचाइ गर्ने कुलो नहुँदा समस्या थियो। जथाभावी वनजंगल फँडानी हुनाले जुम्लामा पानीका मुहानहरू क्रमशः सुक्दै जानु पनि समस्या हो तर यो समस्याकाे ख्याल गर्दै गाउँको स्थानीय सरकार तातोपानी गाउँपालिकाले उक्त ज्युलाेमा झन्डा चार वर्षपछि सिँचाइ पुर्‍याएकाे छ।

गाउँपालिकाले तिला नदीबाट करिब दुई किलो मिटर उकालो पानी चढाएर ज्युलाेमा सिँचाइ पुर्‍याएकाे हो। अहिले किसान उत्साहित छन्। सधैंभरि निरन्तर मार्सीधान खेती हुनुका साथै स्याउ लगायतको फलफूल बगैंचामा सिँचाइ पुर्‍याउन सजिलो हुनेछ।

बाढीले बगाएको कुलो निर्माणका लागि संघीय सरकारले ८८ लाख रुपैयाँ छुट्याएको थियो। केन्द्र सरकारको बजेट र स्थानीय सरकारको चासाेपछि ज्युलाेमा पानी पुगेको हो। 'खेतीयोग्य जमिन बाँझो बनिरहेको थियो। धान रोपेका खेत चिरा परेर सुकिरहेकाे हुन्थ्याे, 'तातोपानी गाउँपालिकाका इन्जिनियर डिल्ली बुढाले भने, ‘अहिले तिला नदीको पानी ज्युलाेमा पुगेको छ।’

झन्डै १४ दशमलव ४ हेक्टर धानखेती हुने जमिन र १६ दशमलव ६२ हेक्टर क्षेत्रफलमा फैलिएको स्याउ खेतीमा सिँचाइ पुगेको छ। 'तिला नदीदेखि आरभीटीसम्मको दुरी २ सय ५० मिटर छ। तिला नदीदेखि हियाखोला ट्यांकीसम्म १ हजार ७ सय ९५ मिटर जीआई पाइप हालिएको छ। एचडीपीई पाइप २ सय ५० मिटरमा प्रयोग गरिएको छ जसमा २० एचपी पम्प प्रयोग भएको छ,' इन्जिनियर बुढाले थपे, ‘अब हियाखोलाबासीले सिँचाइ अभावकाे पीडा खेप्नु पर्दैन।’

सौर्य ऊर्जाबाट चलेको यो सिँचाइ आयोजना आवश्यकता अनुसार चौबिसै घण्टा चलाउन सकिने देखिएको छ। यता गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भने, ‘सिँचाइले हियाखोला ज्युलाे सुकिरहेको थियो। किसान पीडामा थिए। अब ज्युलाेमा धान देखिनेछन्।खेतीयोग्य जमिन हराभरा हुनेछ। किसानले ढुक्कसँग कृषि उपज उत्पादन गर्नेछ।’ अध्यक्ष चाैलागाईले भने।

प्रकाशित: २३ श्रावण २०८२ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App