२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

झुम्का कारागारका कैदीबन्दीलाई स्क्रब टाइफस र डेंगु

केहीको रिपोर्ट आउनै बाँकी

झुम्का कारागारका बिरामी कैदी बन्दीको उपचारमा खटिँदै चिकित्सकको टोली । तस्बिर: नागरिक

सुनसरीको झुम्का कारागारमा पछिल्लो समय ठूलो संख्यामा बिरामी कैदी बन्दीको बढेसँगै केहीमा स्क्रब टाइफस र केहीमा डेंगुको समस्या देखिएको छ । अहिलेसम्म गरिएको परीक्षणमध्ये चार जनामा स्क्रब टाइफस र तीन जनामा डेंगुका बिरामी भएको परीक्षणबाट खुलेको हो ।  

झुम्का कारागारमा भदौ १५ गतेदेखि १८ गते चार दिनको अन्तरमा तीन जना कैदी बन्दीको मृत्यु भएको थियो ।  पाँच सय बढीलाई उच्च ज्वरोले सताएको थियो । त्यो घटनापछि आकस्मिक स्वास्थ्य चेकजाँच टोली खटाएर निरन्तर उपचार गरी रगतको नमुना संकलन गरी परीक्षण गर्दा स्क्रब टाइफस र डेङ्गु भएको पुष्टि भएको कारागार स्वास्थ्य विभागले जनाएको छ । रगतको नमुना परीक्षण गरिएकामध्ये धेरैजसोको रिपोर्ट नेगेटिभ आएको छ, यद्यपि अझै  थुप्रैको बिरामीको रिपोर्ट आउन भने बाँकी नै छ ।  

जिल्ला अस्पताल इनरुवाका चिकित्सक विनेश मण्डलका अनुसार चार जनामा स्क्रब टाइफस भएको प्रमाणित भएता पनि अरु धेरै बिरामीको रिपोर्ट आउनै बाँकी छ । खास गरेर कारागारमा ठूलो संख्या हुँदा संक्रमण छिटो फैलिएर समस्या भएको उनले बताए ।  

झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ । स्क्रब टाइफस भएको व्यक्तिले उपचार गर्न ढिलाई भए ज्यान जाने बढी खतरा हुन्छ ।  यस्तै, डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेंगुका लागि अब कारागारमा मच्छडको औषधी छिर्ने तयारी भएको जानकारी दिइयो ।  

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार कारागारका सम्पूर्ण कैदी बन्दीको एक चरणमा रोग पत्ता लगाउने ढंगले स्वास्थ्यकर्मीको टोलीले काम गरिरहेको बताए । ‘अहिले त अन्डर कन्ट्रोलमै छ,’ उनले भने, ‘प्रदेश स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अलग अलग टोली सक्रिय भएर काम गरी रहेको छ।’

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डाक्टर अभिजीतकुमारले पनि शुक्रबार एक विज्ञप्ति जारी गरी निरन्तर रुपमा रोग पहिचान गरी उपचारमा खटिएको जनाएका छन् । उनले बिपी प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको बिरामीको अवस्था सुधार हुँदै गएको जनाएका छन् ।  

दुई साता अघिदेखि सात–आठ जनाबाट सुरु भएको झुम्का कारागारका कैदीबन्दीमध्ये सिकिस्त १३ जना उच्च ज्वरोका बिरामीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अहिले झुम्का कारागारमा पाँच सय भन्दा बढी ज्वरोका बिरामी रहेका छन् । ती बिरामीका लागि बुधबार रातभर शिविर सञ्चालन गरेर उपचार गरिएको थियो । सिजनल बिरामीबाहेक पाँच सयकै हाराहारीमा दीर्घ रोगी पनि रहेका छन् । जसमा टिभी, दम, सुगर, प्रेसर, थाइराइड र मानसिकका बिरामी रहेका छन् ।  झुम्का कारागारको ब्लक ‘ए’ र ‘बि’ गरी १ हजार सात सय ९८ जना कैदी रहेका छन् ।  

प्रकाशित: २० भाद्र २०८२ १८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App