४ असार २०८३ बिहीबार
image/svg+xml
समाज

मटिअर्वा नाकामा भारतीय सुरक्षाकर्मीको कडाइ

मटिअर्वा नाकामा भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेपछि नाकामा कुर्न बाध्य नेपालीहरू। तस्बिर: उपेन्द्र यादव/नागरिक

भारतीय सीमा सुरक्षा बलले मटिअर्वा नाकामा नेपाली नागरिकहरूको चेकजाँचमा कडाइ गरेको छ।

विगत दुई दिनदेखि नेपालबाट भारतीय बजार आदापुर जाने नेपाली नागरिकहरूको चेकजाँचमा कडाइ गरेपछि उनीहरूले सास्ती खेप्नु परेको छ।

चेकजाँचमा भारतीय सीमा सुरक्षा बलका जवानहरूले गरिरहेको कडाइका कारण भारतीय बजार जाने नेपालीहरू घण्टौँ नाकामा कुर्नुपर्ने अवस्था आएको बताइएको छ।

कलैया उपमहानगरपालिका–१० मा रहेको बाराको छोटी भन्सार मटिअर्वाबाट भारतीय बजार आदापुर जाने नेपाली नागरिकहरूलाई यसअघि भारतीय सीमा सुरक्षा बलका टोलीले कुनै रोकटोक गर्ने गरेका थिएनन्।

भारतीय सीमा सुरक्षा बलका टोलीले नेपाली नागरिक र उनीहरूले प्रयोग गर्ने सवारी साधनलाई सजिलै भारत प्रवेश गर्न दिने गरेको मटिअर्वाका मनोज प्रसादले बताए।

पहिला नेपाली नागरिकहरूलाई सवारी साधनसहित सजिलै प्रवेश गर्न दिने भारतीय सीमा सुरक्षा बलका टोलीले अहिले भारत प्रवेश गर्नेहरूको नेपाली नागरिकता तथा सवारी साधनका कागजपत्र माग्ने बहानामा नाकामा घण्टौँ कुराउने गरिरहेको उनले बताए।

नाकामा भारतीय सीमा सुरक्षा बलको टोलीले चेकजाँचको नाममा दिइरहेको सास्ती देखेर कतिपय नागरिकहरू भारतीय बजार नै नगई बाटोबाटै फर्किने गरेको अवस्था सिर्जना भएको छ।

नेपाली बजारभन्दा भारतीय बजारहरूमा खाद्यान्न, मेसिनरी सामान, लत्ताकपडा तथा कस्मेटिक सामानहरू सस्तोमा पाइने भएकाले सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूले नेपाली बजारभन्दा भारतीय बजारबाट मालसामान किन्ने गरेका छन्।

चेकजाँचमा कडाइ गर्नुका साथै पहिलाजस्तो सजिलै तरिकाले भारतीय बजारबाट किनिएका मालवस्तुहरू ल्याउनसमेत भारतीय सुरक्षाकर्मीहरूले कडाइ गरेको बताइएको छ।

पहिला एउटै साइकलमा दुई बोरासम्म चामल ल्याउन दिने भारतीय सुरक्षाकर्मीहरूले अहिले साइकलमा आधा बोरासम्म मात्रै ल्याउन दिइरहेको नीलकण्ठवाका त्रिभुवन प्रसादले बताए।

भारतीय बजारबाट अहिले बढी मालसामान ल्याउने कतिपय व्यक्तिहरूको मालसामान समेत मटिअर्वामा भारतीय सीमा सुरक्षा बलका टोलीहरूले जफत गर्ने गरेको उनले बताए।

नाकामा रहेको भारतीय सीमा सुरक्षा बलका टोलीहरूको कडाइका कारण कतिपय व्यक्तिहरूले भारतीय बजारबाट मालवस्तु किनेर ल्याउँदा खेतका बाटाहरू प्रयोग गरिरहेको उनले बताए।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले मटिअर्वा नाकामा भारतीय सीमा सुरक्षा बलका टोलीहरूले नेपाली नागरिक र उनीहरूले प्रयोग गर्ने सवारी साधनका कागजपत्र चेकजाँचमा कडाइ गरेका बारे सशस्त्र प्रहरीबाट जानकारी आएको बताएका छन्।

सशस्त्र प्रहरीबाट जानकारी आए पनि सीमामा कडाइ गर्नुको कारण भारतीय पक्षसँग बुझ्नुपर्ने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।

प्रकाशित: ४ असार २०८३ १९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App