मेयरको संरक्षणमा सञ्चालित नेपालगञ्जका ‘अवैध बसपार्क’ हटाइएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको पुष्पलाल चोकस्थित ‘सुशील नगर प्रवेशद्वार’ र धम्बोझीस्थित नेपाल राष्ट्र बैंकको कार्यालय नजिक विगत लामो समयदेखि अवैध रूपमा बसपार्क सञ्चालनमा रहेका थिए। यी स्थानमा बसपार्क सञ्चालन गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कार्यालयको लेटरप्याडमै लिखित रूपमा अनुमति दिएका थिए।
अवैध बसपार्क हटाउन स्थानीय बासिन्दाले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि उपमहानगरपालिकाले मौनता देखाएको थियो। नयाँ सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका स्थानीय तहमा देखिएका अवरोधहरू हटाउन दिएको निर्देशन र स्थानीय बासिन्दाको सुरुदेखिकै दबाबका कारण नेपालगञ्ज उपमहानगरपालिका कार्यालय पनि यतिखेर अवैध बसपार्क हटाउन बाध्य भएको हो।
उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बसपार्कबाट मात्र सवारी साधनहरू गन्तव्यमा जानुपर्ने एकद्वार प्रणाली लागू गराउन अवैध बसपार्कहरू हटाइएको बताए। ‘अवैध बसपार्कहरू हटाउन हाम्रो कार्यालय प्रतिबद्ध छ। ठाउँ–ठाउँमा अव्यवस्थित बसपार्क हुँदा यात्रु तानातान गर्ने प्रवृत्ति थियो, यसको अन्त्य गर्नेछौं।’
नेपालगञ्जबाट दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगरलगायत स्थानका लागि छुट्ने सार्वजनिक सवारी साधनहरू सुशील नगर प्रवेशद्वारबाट र बर्दियाको गुलरिया जाने सवारी साधनहरू धम्बोझीस्थित राष्ट्र बैंक कार्यालय नजिक रहेको अवैध बसपार्कबाट यसअघि छुट्ने गरेका थिए। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा अत्याधुनिक बसपार्क रहेको छ।
उक्त बसपार्क सञ्चालनका लागि उपमहानगरपालिकाले निजी कम्पनीलाई ठेक्का दिएको छ। आफ्नै व्यवस्थित बसपार्कलाई धरासायी बनाउने गरी उपमहानगरपालिकाका मेयर बिष्टले अवैध बसपार्क सञ्चालन गर्न अनुमति दिँदा उनी विवादित बनेका थिए। मेयर बिष्टबाट लिखित अनुमति लिएर केही अमुख व्यक्ति/समूहले सडक र व्यक्तिगत जमिनमा अवैध रूपमा समानान्तर बसपार्क निर्माण गरी लाभ लिएका थिए।
उपमहानगरपालिकाले अवैध बसपार्क हटाए पनि यातायात व्यवसायी तथा मजदुरले सडकभरि सवारी साधन रोकेर यात्रु चढाउने र ओराल्ने प्रवृत्ति भने अझै रोकिएको छैन। यसरी सवारी साधनहरू मनपरी रूपमा सडकमा रोकिँदा नेपालगञ्जको पुष्पलाल चोक, धम्बोझीलगायत क्षेत्र अस्तव्यस्त बनेका छन्। यातायात व्यवसायी र मजदुरका अगाडि स्थानीय प्रहरी प्रशासन पनि मुखदर्शक बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन्।
स्थानीय अगुवा ललितकुमार रौनियारले सुशील नगर प्रवेशद्वारमा सञ्चालित बसपार्क हटाइए पनि सडकभरि सवारी साधन रोक्ने कार्य जारी रहेको बताए।‘उपमहानगरपालिकाले सुशील नगर प्रवेशद्वारमा रहेको बसपार्क त हटायो, तर सवारी साधनहरू सडकभरि छरपस्ट रूपमा रोक्ने काम भइरहेको छ,’ उनले भने।
प्रकाशित: ८ वैशाख २०८३ १९:५६ मंगलबार





