१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

खगेरी जोगिए चितवन जोगिन्छ

२०४१ सालको ठूलो भलबाढीले चितवनको इच्छाकामना गाउँपालिका ७ स्थित स्याङ्दी क्षेत्रमा खेतबारी बगायो। खेती नै मुख्य जीविकोपार्जन रहेको त्यस बेलाको समुदायका लागि बाढीले जमिनसँगै जीवनयापनको आधारसमेत खोसिदियो। त्यसको १३ वर्षपछि २०५४ साल असोजमा आएको अर्को भीषण बाढी र पहिरोले घरेटी खोलामा ठूलो ताल बनायो। बस्ती नै बगाउने त्रासमा स्थानीयवासी रातभर भयभीत बने।

ती विपत्तिका सम्झना अहिले पनि इच्छाकामना गाउँपालिका–७ का बासिन्दाको स्मृतिमा ताजा छन्। यसका बिच खगेरी खोलाको मुहानसमेत रहेको यस ठाउँको मुहान र उपजलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा स्थानीयलाई चिन्ता थपिएको छ। चण्डीथान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमृत गुरुङ अहिले यस क्षेत्रमा बायो इन्जिनियरिङ प्रविधिमार्फत पहिरो नियन्त्रणका काम भइरहेको बताउँछन्।

‘२०५४ सालमा आएको बाढीले नम्बरी जग्गा पुरिदियो। अहिले त्यहाँ बाढी हिँडेको छ। यतिखेर हामी १९४ घरधुरी विस्थापित भएर ऐलानी जग्गामा बसेका छौँ,’ उनले भने ‘अहिले पहिरोबाट जोगिन गैँडाकोटको सहमति र डब्लुडब्लुएफको साझेदारीमा सामुदायिक वनले ३८० मिटर लामो इन्जिनियरिङ प्रविधिमार्फत पहिरो रोकथामका लागि काम गरेका छौँ।’

खगेरी खोलाको शिर इच्छाकामना–७ को चण्डीथान सामुदायिक वननजिक स्यानस्याङ्दी खोला, मूल स्याङ्दी खोला लख्ना कोटगाउँ हो। माथिल्लो क्षेत्रबाट सुरु भएर राप्ती नदीको खोरसोरसम्म फैलिएको खगेरी उपजलाधार ३५ दशमलव ५५ किलोमिटर लामो छ। यसमा १३ वटा साना–ठुला खोला मिसिन्छन् भने १२५ ताल तथा सिमसार क्षेत्र रहेको बताइन्छ। यहीं जलप्रणालीले चितवनका सयौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउनुका साथै वन, वन्यजन्तु, सिमसार र तल्लो तटीय क्षेत्रको पारिस्थितिक प्रणालीलाई धान्दै आएको छ। यस्तो सामरिक महत्त्व बोकेको खगेरी खोलाको संरक्षण गर्नुपर्ने बताउँछन् डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्य।

‘खगेरी खोलाकै कारण चितवनको सयौँ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। यो खोलाकै कारण बनेका सिमसार र तालतलैयाले गर्दा चितवनको मध्य तटीय र तल्लो तटीय क्षेत्रमा पर्यापर्यटनले हजारौँ रोजगारी सिर्जना गरेको छ,’ उनले भने, ‘ग्रामीण अर्थतन्त्र चलायमान बनाउन ठूलो योगदान पुगेको छ।’

खगेरी उपजलाधार क्षेत्र १५९ दशमलव ७४ वर्ग किमीमा फैलिएको छ। यसले इच्छाकामना गाउँपालिका–७, कालिका नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८ र ९, रत्ननगर नगरपालिकाको १, ८, ९, १०, ११, १२ र १३, र भरतपुर महानगरपालिकाको १, ८, ११, १२, र २९ नम्बर वडामा प्रभाव पार्दछ। यो क्षेत्रमा ३० हजार ६१२ घरधुरी छन्। चितवनको वरण्डाभार क्षेत्र र बीसहजारी तालको इकोसिस्टम र चितवनका किसानको खेती जोगाउन खगेरीको खोलाको संरक्षण गर्नुपर्ने आचार्यले बताए।

अहिले भूक्षय, मुहान सुक्दै जानु, तालतलैया पुरिनु, खोलाखोल्सीमा अतिक्रमण र मिचाहा वनस्पतिको विस्तारले खगेरी उपजलाधारको भविष्यमा चुनौती थपिएको छ। त्यसैले अहिले स्थानीय समुदाय, सामुदायिक वन र विभिन्न सरोकारवाला संस्थाको सहकार्यमा मुहान संरक्षण, जैविक बाँध निर्माण, सिमसार पुनर्स्थापना, संरक्षण पोखरी निर्माण तथा वृक्षरोपणजस्ता प्रकृतिमा आधारित समाधानका काम भइरहेका छन्।

यस क्षेत्रमा सहमति र डब्लुडब्लुएफको साझेदारीमा ‘प्रकृतिमा आधारित समाधान: त्रिपक्षीय लाभ कार्यक्रम’ समेत सञ्चालान भएको छ। कार्यक्रम संयोजक शिव सुवेदीका अनुसार १९ सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा वनको संस्थागत विकाससँगै विपद् प्रतिकार्य सामग्री, वृक्षारोपण तथा जैविक बाँध निर्माण लगायतका काम हुँदै आएको छ। ‘मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न तथा जमिनमा पानी पुनर्भरणमा समेत सहयोग पुग्ने गरी वन क्षेत्रमा पुराना सिमसारको पुनर्स्थापना र नयाँ निर्माण, संरक्षण, र तलाउको स्थापनामा कार्यक्रमले सहयोग पुर्‍याउँदै आएको छ,’ उनले भने ‘यस उपजलाधारको प्रभाव क्षेत्रमा जलीय पारिस्थितीय प्रणाली सन्तुलन र जैविक विविधता संरक्षणका लागि वन क्षेत्रमा रहेका फोहोरको समेत व्यवस्थापन गरिहेका छौँ।’

यस खोलाले चितवनको पर्यापर्यटनलाई जीवित राख्न मात्र होइन यस क्षेत्रकै मानव सभ्यता जोगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ तर चितवनले खगेरी उपजलाधार क्षेत्रको संरक्षणमा समयमा चासो दिन नसक्ने हो भने चितवनको मानव सभ्यता नै संकटमा पर्ने सहमतिका सल्लाकार तथा निवर्तमान अध्यक्ष होमनाथ सुवेदीले बताए।

चतुर्मुखी सामुदायिक वनमा पनि नदी किनार जोगाउन तथा भूक्षयीकरण रोक्न जैविक बाँध निर्माण गरिएको छ। वनका अध्यक्ष हरिकुमार गुरुङले भूक्षयका कारण चतुर्मुखी क्षेत्रमा खोलाले प्रत्येक वर्ष कटान गर्ने गरेपछि जैविक बाँध निर्माण गरेको बताउँछन्। ‘सहमतिको सहयोगमा आर्थिक वर्ष २०७९/२०८० मा १ सय ४० मिटर, त्यसपछि १ सय २० मिटर, अहिले ४५ मिटर गरेर तीन वर्षमा ३ सय ५ मिटर जैविक बाँध निर्माण गरेका छौँ,’ उनले भने ‘जैविक बाँधमा बाँस, गिट्टीबालुवा बोराबोरामा प्याकिङ गरेर बाँध निर्माण गरेका छौँ।’ यस जैविक बाँधले खोलाको बेगलाई ८० प्रतिशत रोक्ने काम गरेको छ।  

प्रकाशित: १६ आश्विन २०८३ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App