१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

झोलुंगे पुलमुनि मृत फेला परेका पुरुषको पहिचान खुल्यो

उदयपुरको सदरमुकाम गाईघाटनजिकै झोलुंगे पुलमुनि मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक रौतामाई गाउँपालिका–४ का ३८ वर्षीय नरेशकुमार सुयल हुन्।

बिहीबार बिहान करिब ९ बजे त्रियुगा नगरपालिका–११ ढिम्कीस्थित झोलुंगे पुलको सिँढीमुनि पानीमा टाउको डुबेको अवस्थामा एक पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल सुरक्षित गरी अनुसन्धान सुरु गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गणेश बलमेका अनुसार अज्ञात शवको पहिचानका लागि प्रहरीले सूचना सार्वजनिक गरी आफन्तको खोजी गरेको थियो। त्यसक्रममा मृतकका दाजु प्रविण सुयल घटनास्थलमा पुगेर शवको पहिचान गरेका थिए।

प्रहरीका अनुसार मृतक नरेशकुमार सुयल रौतामाई गाउँपालिका–४ का स्थानीय होमबहादुर सार्कीका छोरा हुन्।

आफन्तबाट पहिचान खुलेपछि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा सुयलले झोलुंगे पुलको सिँढीमा मदिरा सेवन गरेको र त्यसपछि लडेर करिब २२ फिट तल पानीमा खस्दा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

यद्यपि, घटनाको वास्तविक कारण भने पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी बलमेले बताएका छन्।

 

प्रकाशित: १४ श्रावण २०८३ २०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App