यही भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको सिंहदरबार सबैको दरबार थियो।
सिंहदरबार जलिरहँदा सबै नेपालीको मन पनि जलिरहेको थियो। प्रशासनिक मात्र नभएर त्यो नेपालीको सांस्कृतिक र ऐतिहासिक दरबार थियो। नेपालको इतिहास जोडिएको भवन जल्दा सबै दुखी छन्।
अर्घाखाँचीका तुल्सीराम अधिकारीले सामाजिक संजालमा सिंहदरबार आगोमा दनदनी जलिरहेको देख्दा मन थाम्न सकेनन्। उनलाई न रातमा निन्द्रा लाग्छ, न दिनमा भोक। देशकै प्रतिष्ठाको रूपमा रहेको सिंहदरबार खरानी भएको उनले बिर्सनै सकेका छैनन्।
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २, सितापुरमा खेतिकिसानी गरेर जीवन निर्वाह गर्दै आएका ६२ वर्षीय अधिकारी बेला बेलामा भक्कानिन्छन्। उनलाई सिंहदरबारकै झल्कोले पोलिरहेको छ। उनलाई सपनामा समेत त्यो आगोका लपेटाहरूले सताइरहेको छ। उनी मन भारी बनाउँदै भन्छन्, ‘मैले राम्रोसँग खाएको छैन, रातमा निन्द्रा पर्दैन। यो नरसंहार के का लागि? म बाट मैले बनाउन सुरु गर्छु।’
अधिकारीले ‘म बनाउँछु मेरो सिंहदरबार’ भन्ने अठोटका साथ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा १ लाख एक सय रुपैयाँ जम्मा गरेका छन्। मेरो आस्थाको धरोहर ढलेको भन्दै उनले देशको नागरिक भएका नाताले सहयोग गरेको बताए। ‘आत्म शान्तिका लागि मेरो यो अभियान हो,' उनले भने, ‘यति गरेपछि मलाई राम्रोसँग निन्द्रा लाग्छ कि भनेर यो सहयोग गरेको हुँ।’
पेसाले उनी कृषक हुन्। खेतबारीमै काम गरेर उनले दैनिकी बिताउँछन्। तरकारी खेती गरेर उनले जीवन निर्वाह गरिरहेका छन्। काँक्रा, करेला, खुर्सानी, गोपी, टमाटर लगायतका तरकारी बेचेर उनले आम्दानी गर्छन्। त्यही तरकारी बेचेर बचत गरेको पैसा उनले ‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै सरकारी कोषमा जम्मा गरेका हुन्।
उनले एक्लैको सहयोगले केही नहुने भन्दै देशभरका र नागरिकले सहयोग गर्नुपर्ने बताए। ‘हाम्रो प्रतिष्ठा ढलेको छ। हाम्रो शिर ढलेको छ,' उनले भने, ‘सबै मिलेर सिंहदरबार ठड्याउनु पर्छ।’
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जेन–जी आन्दोलनका क्रममा थुप्रै सार्वजनिक सम्पत्ति जलेर नष्ट भएको भन्दै सबैले हातेमालो गर्नुपर्ने बताए। देश पुनर्निर्माणमा सबै लाग्नुपर्ने भन्दै प्रजिअ अर्यालले एक कृषकले आफ्नो बचत राष्ट्र निर्माणमा लगाउनु अत्यन्त सकारात्मक भएको बताए।
प्रकाशित: ३१ भाद्र २०८२ ०८:४४ मंगलबार





