गृहमन्त्री सुधन गुरुङले नागरिकको ठूलो आशा र भरोसाका कारण आफूलाई जिम्मेवारी निर्वाहमा कतै कमी पो भइहाल्छ कि भन्ने सधैं डर रहने गरेको बताएका छन्।
पदभार सम्हालेपछि जनताको विश्वास जोगाइराख्नु नै आफ्नो सबैभन्दा ठूलो चुनौती र मानसिक दबाब बनेको उनले सुनाए।
काठमाडौंमा आयोजित जेन-जी सहिद स्मृति दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सत्ता सञ्चालन गर्दाको व्यक्तिगत अनुभूति र जनअपेक्षाको भारीबारे भावुक अभिव्यक्ति दिएका हुन्।
‘मन्त्रालयमा जनता हाम्रै मान्छे छ भनेर ठूलो आशा बोकेर आउनुहुन्छ। त्यसैले मलाई सुत्न पनि डर लाग्छ,’ मन्त्री गुरुङले भने, ‘कुनै काममा कमजोरी पो भइहाल्ने हो कि भनेर मलाई १०० मा ९९ प्रतिशत डर लागिरहन्छ।’
नागरिकले आफूलाई आफ्नै छोरा र भाइ सम्झेर जिम्मेवारी दिएको स्मरण गर्दै उनले त्यो कुर्सी व्यक्तिगत प्रतिष्ठा नभई सहिदहरूको सपना भएको बताए। ‘त्यो मन्त्रालयको कुर्सीमा बस्दा मलाई मात्र नदेख्नुहोला, त्यहाँ सहिदहरूको सपना र तपाईंहरूको आफ्नै छोरा बसेको छ भनेर बुझिदिनुहोला,’ उनले भने।
कर्मचारीतन्त्रको परम्परागत शैलीभन्दा बाहिर निस्किएर सरकारले काम गरिरहेको दाबी गर्दै उनले समयको सीमामा बाँधिएर आफूहरू नबसेको बताए। उनले थपे, ‘हामीलाई ५ बजे कतिखेर घर जाम्ला भनेर हतार छैन। जतिबेलासम्म सकिन्छ, जनताकै काममा घोटिइरहेका छौं।’
नयाँ पुस्ताको सरकार भएकाले कार्यशैली वा बोलीचालीमा केही सामान्य त्रुटि हुन सक्ने स्वीकार गर्दै उनले नियतमा भने कुनै खोट नरहेको बताए। ‘हाम्रो बोली, भाषण वा पहिरन नमिल्ला, तर हाम्रो नियत सधैं सफा छ,’ मन्त्री गुरुङले भने, ‘हामी नागरिकबाट सुझाव लिन र आफ्ना कमजोरी सुधार्न सधैं तयार छौं।’
प्रकाशित: २३ भाद्र २०८३ १६:१४ मंगलबार




