२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

कागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन्। कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। सीताको टाउको र अनुहारमा चोट लागेको थियो।

कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए। उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए।

अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए। श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन्। घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ। उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८२ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App