१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

रसुवाको विपत्तिमा मधेसको मानवीय साथ : १९५ मध्ये १६२ जना अझै सम्पर्कविहीन

भदौ १६ रसुवामा गत साता आएको विनाशकारी बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि देशभर उद्धार र राहत अभियान तीव्र बनेको छ। 

बाढीबाट प्रभावित रसुवामा उद्धारका लागि सुरक्षाकर्मी दिनरात खटिइरहेका बेला आफ्नै प्रदेशका नागरिक ठूलो संख्यामा सम्पर्कविहीन भए पनि मधेसप्रदेश भने रसुवालीको पीडामा मल्हम लगाउन राहत संकलन र सहयोग अभियानमा जुटेका छन। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले रसुवाको बाढीमा मधेस प्रदेशका आठ जिल्लाका १९५ जना सम्पर्क विहीन रहेको जनाएको छ । 

सम्पर्क बिहिन मध्ये ३० जना परिवारजनको सम्पर्कमा आएका छन् भने दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै १६२ जना सम्पर्कविहीन छन् । रौतहटबाट १९ जना सम्पर्कविहीन बाढिको चपेटामा सबैभन्दा धेरै सप्तरीका ४९ जना सम्पर्क विहीनमध्ये दुई जना सम्पर्कमा आएका छन् र एक जनाको मृत्यु भएको छ । त्यहाँ अझै ४५ जना सम्पर्कविहीन छन्। पर्साका ४० जनामध्ये दुई जना सम्पर्कमा आएपछि ३८ जना, बाराका २५ मध्ये दुई जना सम्पर्कमा आएपछि २३ जना, रौतहटका १९ मध्ये ६ जना सम्पर्कमा आएपछि १३ जना अझै सम्पर्क विहीन रहेका छन्। 

त्यस्तै, सर्लाहीका २१ मध्ये ३ जना सम्पर्कमा आएपछि १८ जना, महोत्तरीका १७ मध्ये ७ जना सम्पर्कमा आएपछि १० जना, धनुषाका १४ मध्ये ७ जना सम्पर्कमा आएपछि ७ जना र सिरहाका १० मध्ये दुई जना सम्पर्कमा आएपछि ८ जना र सप्तरीका एक जना सम्पर्क आएको ४८ सम्पर्कविहीन रहेको मधेस प्रदेशका प्रहरी प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले बताए। मधेस प्रदेशका नागरिकहरु रसुवामा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीमध्ये पनि केही सम्पर्कविहीन भएको विवरण छ।

प्रहरीतर्फ १० जना सम्पर्कविहीनमध्ये सात जना सम्पर्कमा आएका छन् भने तीन जना अझै सम्पर्कविहीन छन्। नेपाली सेनातर्फ तीन जना सम्पर्कविहीनमध्ये एक जना सम्पर्कमा आएका छन् भने दुई जना अझै सम्पर्कविहीन छन्। आफ्ना नागरिकको खोजीसँगै रसुवालीका लागि राहत आफ्नै प्रदेशका ठूलो संख्याका नागरिक रसुवामा सम्पर्कविहीन भएपछि मधेसमा उनीहरूको खोजी र परिवारलाई जानकारी उपलब्ध गराउने प्रयाससँगै रसुवाका पीडितका लागि राहत संकलन अभियानसमेत चलिरहेको छ।

स्कुले विद्यार्थी, सरकारी कर्मचारी, नागरिक समाज, व्यवसायी, बुद्धिजीवी तथा विभिन्न सामाजिक संघसंस्थादेखि युवाहरूले स्वतःस्फूर्त रूपमा खाद्यान्न, लत्ताकपडा, पानी, औषधि लगायत का सामग्री संकलन गरिरहेका छन् । संकलित सामग्री लिएर विभिन्न टोली रसुवातर्फ पुगिरहेका छन्। 

रौतहटबाट राहत सामग्री लिएर रसुवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता तथा व्यवसायी रबि जयसवालले विपत्तिमा परेका नागरिकलाई तत्कालको राहत मात्रै पर्याप्त नहुने बताए। उनले रसुवाको अवस्था आफूले अत्यन्तै हृदयविदारक पाएको उल्लेख गर्दै भने, “रसुवाको यो पीडा क्षणिक राहतले मात्रै पूरा हुँदैन। 

चीन हुँदै काठमाडौंसम्मको व्यापार–व्यवसायमा सेतुको भूमिका निर्वाह गर्ने रसुवाको अहिलेको अवस्था निकै पीडादायी छ।” नागरिक समाजका सचिव विजयकिशोर झाले रसुवाले यस्तो विपत्ति फेरि भोग्न नपरोस् रसुवेलीको पिडामा मल्हम लगाउन मधेसका विभिन्न स्थानबाट राहत तथा सहयोग जुटाउने काम भइरहेको बताए। मधेस प्रदेशका युवादेखि व्यवसायी र सामाजिक अभियन्ता सम्मले पीडित परिवारलाई तत्काल राहत पुर्‍याउन सक्रियता देखाएको बताएका छन्। 

छैटौँ दिनसम्म शव नपाएपछि कुशको शव बनाएर अन्त्येष्टि यसैबीच रसुवाको बाढीमा बेपत्ता भएका पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ७ रानीगञ्ज रहरियाका सोनालाल पण्डितको अवस्था छैटौँ दिनसम्म पनि पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। 

आफन्तका अनुसार लगातार खोजी गर्दा पनि सोनालालको शव फेला नपरेपछि धार्मिक परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो। आफन्तका लागि आफ्नै सदस्यको वास्तविक शवसमेत फेला नपरी अन्तिम बिदाइ गर्नुपर्ने अवस्था आफैंमा अर्को पीडा बनेको छ। 

रसुवाको विपत्तिले मधेसका परिवारमा आफ्ना आफन्तको अवस्थाबारे चिन्ता थपेको छ । एकातिर १६२ जना अझै सम्पर्कविहीन रहेको पीडा, अर्कोतिर हजारौँ प्रभावित रसुवालीका लागि राहत जुटाउने मानवीय अभियान मधेस अहिले आफ्ना नागरिकको खोजी र विपत्तिमा परेकालाई सहयोग गर्ने दुवै मोर्चामा उभिएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १६:१४ मंगलबार