रसुवाको भोटेकोशी बाढीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८५ जना सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ र नेपाल प्रहरीका २७ जना सम्पर्कविहीन छन्। तर, नेपाल प्रहरीले भने आफ्ना २५ जना जवान सम्पर्कविहीन रहेको जानकारी दिएको छ।
प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ७३४ जनाको शव फेला परेको छ। जलविद्युत आयोजनामा कार्यरत ९३३ जनासहित दुई हजार ४९८ जना सम्पर्कविहीन छन्। बाढीमा २४२ जना घाइते भएका छन्।
खोज, उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ हजार ८९५ जना सुरक्षाकर्मी परिचालन भएका छन्। उनीहरूले हालसम्म ८ हजार १८६ जनाको उद्धार गरेका छन्।
यस्तै, जलविद्युत आयोजनाका सुरुङबाट २७९ जना र अन्य प्रभावित क्षेत्रबाट २२७ विदेशी नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८३ ११:१५ आइतबार





