फेवातालको ६५ मिटर मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङको जग्गा पनि परेको छ। पोखरा महनगरपालिकाका मेयर धनराज आचार्यले गृहमन्त्री गुरुङको जग्गा तालघरभित्र परेको जानकारी दिए। महानगरले शनिबारदेखि ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन थालेको थियो। महानगरले सांकेतिक रुपमा शनिबार बिहान तालकिनारका ३२ वटा संरचना हटाएको छ।
‘सरकारलाई फेवातालबारे रिपोर्ट बुझाउन गएका थियौं। त्यहीबेला नक्सा हेर्ने सन्दर्भमा गृहमन्त्रीले आफ्नो पनि जग्गा रहेको र कहाँ पर्छ भनेर सोधपुछ गर्नुभयो,’ आचार्यले गृहमन्त्रीसँगको कुराकानीबारे जानकारी दिँँदै भने, ‘नक्सा देखाउँदै यो जग्गा कहाँ पर्छ भनेर सोध्नुभयो, मैले तालघरभित्रै पर्छ भनेर जवाफ दिए।’ गृहमन्त्री गुरुङले तालघरभित्र आफ्नो जग्गा परेको जानकारी पाएपछि मेयर आचार्यलाई भनेका थिए, ‘मेरै जग्गा परे पनि परोस, तर, मापदण्ड कायम गर्नुपर्छ। मेरै जग्गा परेपनि केही फरक परेन।’
मेयर आचार्यका अनुसार गृहमन्त्री गुरुङको जग्गा तालको उत्तरी क्षेत्रमा पर्छ। क्षेत्रफलबारे भन यकिन नभएको उनले बताए । जग्गा दुषित भए त्यसको मुआब्जा समेत गृहमन्त्री गुरुङले नपाउने मेयर आचार्यले बताए। दुषित जग्गाको दर्ता खारेज गर्न सर्वोच्च अदालतले आदेश दिईसकेको छ। गुरुङले पोखरामा यो जग्गा कहिले र कोसँग किनेका हुन भन्नेबारे भने अझै यकिन भएको छैन।
प्रकाशित: २२ चैत्र २०८२ १६:४० आइतबार





