देशभर दसैं नजिकिँदैछ। शहरबजारहरू रौंरौं भरिँदै छन्, उपत्यकामा चहलपहल बढ्दो छ तर नेपालकै दुर्गम भेग जुम्लाको एक विकट गाउँ पातारासी गाउँपालिका-१, स्यालागडिगाउँमा भने दसैंको रौनक फरक ढंगले देखापर्छ। यही गाउँकी लक्ष्मी ऐडी आठ वर्षदेखि बर्सेनि आफैंले पालेका भेडा बेच्न सदरमुकाम जुम्ला बजार झर्छिन्।
लामो पैदलयात्रा, अप्ठ्यारा बाटाहरू र चिसो मौसम, यी सबै चुनौती पार गर्दै उनले एउटा उदाहरणीय जीवनशैली अपनाएकी छन्। ‘राम्रो कमाइ हुन्छ,’ मुस्कुराउँदै भनिन् लक्ष्मी ऐडी, ‘दसैंको मेलामा भेडाको माग धेरै हुन्छ। सदरमुकाममा त धेरैले पर्खिरहेका हुन्छन्। स्यालागडिगाउँबाट जुम्ला लगभग ४-५ तीन घण्टा पैदल बजारसम्म उकालोओरालो बाटो लक्ष्मीका लागि नयाँ होइन।
‘शुरूवाती दिनमा त धेरै डर लाग्थ्यो,’ उनी सम्झन्छिन्, ‘तर अहिले त बजारमै आफन्त जस्तो महसुस हुन्छ। मान्छेहरू चिन्छन्, कुराकानी गर्छन् र भेडा किनेर खुशी हुन्छन्।’
उनका श्रीमान् जयबहादुर ऐडी पनि साथ दिन्छन्। दम्पती योजना बनाउँछन् - कति भेडा बेच्ने, कति राख्ने र कति पैसा बचत गर्ने।
लक्ष्मीका अनुसार एक दसैंमा १५ देखि २० भेडा बेच्दा तीन लाख रूपैयाँभन्दा बढी आम्दानी हुन्छ। न्यूनतम १५ हजारका दरले बिक्रीवितरण हुन्छन्।
‘यो कमाइ हाम्रो लागि ठूलो हो। छोराछोरीको पढाइ, घरखर्च लत्ताकपडा सबै यहीबाट चल्छ,’ जयबहादुर भन्छन्।
उनीहरूका लागि भेडा मात्र आम्दानीको स्रोत होइन, आत्मसम्मान र आत्मनिर्भरता पनि हो। ‘हाम्राे सानो प्रयासबाटआत्मबल बढेकाे छ,’ जयबहादुर भन्छन्, ‘गाउँमा बसेर पनि राम्रो कमाइ गर्न सकिन्छ भन्ने देखाइरहेका छौं।’
लक्ष्मीले दसैंको अवसर मात्रै व्यवसायिक अवसर मानेकी छैनन्, उनले यसलाई आत्मनिर्भरताको पर्व बनाएकी छन्। दसैंसँगै उनी आफ्ना परम्परागत सीप र जीवनशैली बजारसम्म पुर्याउँदै छिन्।
उनको संघर्ष जुम्लाका अन्य महिलाहरूका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको छ। गाउँमै बसेर जीवन चलाउन सकिन्छ, आत्मसम्मानका साथ बाँच्न सकिन्छ, लक्ष्मी ऐडीको यात्रा यही सन्देश दिन्छ।
लक्ष्मीको काम परम्परागत हो- भेडापालन। लक्ष्मी ऐडीको यो यात्रा अन्त्य होइन, यो सुरुवात हो। सुरुवात हो एउटा सोचको, आत्मनिर्भरता सहरको मोहमा होइन, गाउँको माटोमा पनि पलाउँछ। सुरुवात हो त्यो विश्वासको, जहाँ महिलाले परिवार मात्रै होइन, समाज परिवर्तन गर्ने नेतृत्व गर्न सक्छिन्।
दसैंको चहलपहलले बजार त भरिन्छ नै तर लक्ष्मी जस्ता महिलाहरूको संघर्षले समाजमा विश्वास, आत्मबल र सम्भावनाले भरिने हो। ऐडीको कथा कुनै कथा मात्र होइन, यो त संघर्ष, सफलता र दुर्गमतामा उज्यालो सम्भावनाको यथार्थता हाे।
नेपालका हजारौं महिला बेरोजगारी, अवसरको कमी र दुर्गमताले थिचिएका छन् तर लक्ष्मी ऐडीले संकटबीच पनि सम्भावना हुन्छ भन्ने देखाएकी छन्। सरकार, संघसंस्था र नीतिनिर्माताहरूले यस्ता उदाहरणीय काम गर्ने लक्ष्मी जस्तालाई सहयोग गर्न सके देशभित्रै रोजगारी र आत्मनिर्भरता बलियो बन्नेछ।
दसैंको यो बेला, जब धेरैले उपभोगतामूलक सोचमा रमाइरहेका छन्, स्यालागडि गाउँकी लक्ष्मी ऐडीले आत्मनिर्भरताको साँचो अर्थ देखाइरहेकी छन् - श्रम, लगन र धैर्यबाट समृद्धिको बाटो खोल्दै।
पहिले स्यालागडिका धेरै महिला घरभित्रै सीमित थिए। लक्ष्मीले त्यो सीमा तोडेर देखाइन् -गाउँमै बसेर एक महिलाले पनि आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्छिन् भन्ने। अहिले उनको प्रयास देखेर अरू महिलाहरू पनि भेडापालनमा लाग्न थालेका छन्। केही महिला त लक्ष्मीको सल्लाह अनुसार भेडा किन्न थालेका छन्।
‘उहाँ हाम्रा लागि दिदी मात्रै होइन, गुरुआमा जस्तै प्रिय हुनुहुन्छ,’ भन्छिन् स्थानीय महिला रामु ऐडी भन्छिन्, ‘उहाँको बाटो पछ्याउँदै हामी पनि अघि बढ्न थालेका छौं।’
नेपालको विकासका लागि धेरैले सहरमुखी रोजगारी समाधान ठान्छन् तर लक्ष्मी ऐडीले देखाइन् - अवसर र सहयोग पाइयो भने गाउँमै पनि आत्मनिर्भर जीवन सम्भव छ।
आज पनि हजारौं नेपाली युवा रोजगारीको खोजीमा खाडी मुलुक गइरहेका छन् तर लक्ष्मी जस्ता महिलाहरू गाउँमै उद्यम गर्दै छन्। उनीहरूको कथा देशकै लागि उदाहरणीय हुन सक्छ - यदि राज्यले चासो दियो भने।
प्रकाशित: १३ आश्विन २०८२ १३:२४ सोमबार





