भोलि (शुक्रबार)देखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने प्रक्षेपणपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विभिन्न क्षेत्रका कमाण्ड पोष्टको नियमित बैठक बसी जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको जानकारी दिए। उनले वर्षाका कारण हुन सक्ने सम्भावित डुबान र बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि खोजतलास र उद्धार कार्यका लागि तयारी अवस्थामा बस्न सुरक्षा निकायलाई निर्देशन दिइएको बताए।
'विपद्का कारण पर्न सक्ने असरका बारेमा समुदायमा सतर्कता अपनाउन प्रचारप्रसार गर्ने र सम्पूर्ण सरोकारवालालाई व्यापक रुपमा परिचालन गरिने छ,' उनले भने।
जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति कम गर्न स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी तामाङले पूर्वसूचनालाई ध्यानमा राख्दै आठ स्थानीय तहलाई पूर्वतयारी र स्रोतसाधन व्यवस्थापनका लागि सूचित गरिएको जानकारी दिए।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति रुपन ज्ञवालीले जोखिम न्यूनीकरणका लागि आवश्यक सबै तयारी भएको जानकारी दिए। उनले खोज तथा उद्धारका विषयलाई प्राथमिकता दिँदै विपद् स्वंयसेवक पनि परिचालन गरिने उल्लेख गरे।
पछिल्लो विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८२४ वटा विपद्का घटना भएका छन्। यस्तै, विपद्बाट रु एक करोड ८४ लाख ८८ हजार भएको थियो। जिल्लामा नेपाली सेना शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको कमाण्ड पोष्टलाई अलर्ट गरिएको छ।
बाँकेमा बाढी र डुबानलाई हरेक वर्ष दोहोरिरहने प्रमुख विपदका रूपमा हेरिएको छ।
प्रकाशित: ८ आश्विन २०८३ ०६:३१ बिहीबार





