करिब ५० घण्टाको अथक र जोखिमपूर्ण प्रयासपछि देशको प्रमुख लाइफलाइन मुग्लिन-नारायणघाट सडकखण्ड अन्ततः सञ्चालनमा आयो। र हाल पनि संचालनमा छ।
सडक खुल्दाको राहत र हर्षको पछाडि ज्यान हत्केलामा राखेर ७० मिटर माथिबाट ‘बम’ जसरी बर्सिरहेका ढुङ्गाहरूसँग जुध्दै पहिरोसँग ‘युद्ध’ लड्ने ‘योद्धा’ हरूको सङ्घर्ष अतुलनिय छ। ती योद्धा हुन- हेभी इक्विपमेन्ट अपरेटर र फिल्डमा खटिएका प्राविधिक। उनीहरुको अदम्य साहसविना यो सम्भव थिएन।
असोज ७ गते तुइन खोलामा खसेको करिब २७,००० घनमिटरको पहिरो सामान्य प्राकृतिकको थिएन। पहाड नै खसेको थियो। घटनास्थलमा खटिएका साइट इन्जिनियर अर्जुन घिमिरका अनुसार, पहिरो पन्छाउने काम सुरु गर्दाको अवस्था निकै भयावह थियो।
‘७०-८० मिटर माथिबाट ढुंगाहरू बम जसरी खसिरहेका थिए,’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘त्यस्तो अवस्थामा पनि हाम्रा अपरेटर साथीहरूले निरन्तर युद्ध लडिरहनुभयो।’
सडक साँघुरो थियो। एकैपटक केही मेसिन मात्र चलाउन सकिन्थ्यो, त्यहाँ माथिबाट खस्ने चट्टानको हरेक क्षण सामना गर्नु चानचुने थिएन। तर, चौतर्फी सार्वजनिक दबाब र कतिपय अवस्थामा आक्रोशपूर्ण गालीगलौजलाई समेत झेलेर ती नायकहरू आफ्नो कर्ममा डटिरहे।
पहिरोमा खसेका तिखा ढुङ्गाले उपकरणका टायर पटक-पटक पन्चर भए, तर उनीहरूको मनोबल पन्चर भएन।
यो असम्भवप्रायः काम केही अपरेटरको बहादुरीले मात्र सम्भव भएको होइन। यसको पछाडि एउटा मजबुत र कुशल समन्वयको हात थियो।
अपरेटरहरूले पहिरो सोहोरिरहँदा, सब-इन्जिनियरद्वय सुजन थापा मगर र हरि श्रेष्ठ तथा सुपरभाइजरद्वय सुक बहादुर गुरुङ र ईश्वर क्षेत्री ‘वाचर’ को भूमिकामा थिए।
उनीहरूले भीरमा आँखा गाडेर बसे, माथिबाट ढुङ्गा खस्न लागेको सानोभन्दा सानो सङ्केतलाई पनि अपरेटरसम्म पुर्याएर उनीहरूको ज्यान जोगाए।
सडक खुलाउने अभियानको नेतृत्व सडक डिभिजन भरतपुरका प्रमुख ई. रमेश प्रसाद पौडेलले गरिरहेका थिए भने सडक विभागका जियोटेक्निकल विज्ञ नरेशमान शाक्य र डा. मधुसुदन आचार्यले प्राविधिक विश्लेषण र सल्लाह दिएर जोखिम न्यूनीकरणमा सघाइरहेका थिए।
इन्धन अभाव हुन नदिन मुग्लिन-नागढुंगा सडक योजना, थप उपकरण र जनशक्ति पठाउन हेभी इक्विपमेन्ट डिभिजन हेटौंडा तथा डुम्रे र निर्माण व्यवसायीहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रह्यो।
पहिरोको एकातर्फ हजारौं यात्रु अलपत्र थिए भने अर्कोतर्फ उद्धार टोली जोखिममा। यसको सन्तुलन मिलाउन चितवनका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको टोलीले अस्तव्यस्त सवारीलाई व्यवस्थापन गर्दै शान्ति सुरक्षा कायम राखेको थियो।
विपद्को घडीमा सञ्चारकर्मीहरूले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेले। उनीहरूले ड्रोनको सहायताले पहिरोको वास्तविक अवस्थाको भिडियो खिचेर प्राविधिक टोलीलाई उपलब्ध गराए भने अलपत्र यात्रुहरूलाई निरन्तर सूचना प्रवाह गरेर आशा जगाइराखे।
प्रकाशित: ११ आश्विन २०८२ १६:३१ शनिबार





