नुवाकोट बेलकोटका प्रकाश नेपाली (नाम परिवर्तन) को भारत गएर मनग्गे पैसा कमाउने रहर थियो। तर उनको सपना र रहर त्यो बेला चकनाचुर भयो, जतिबेला काममा लगाइनुको सट्टा मिर्गौला झिकेर नेपाल फिर्ता पठाइयो।
घटना विवरण अनुसार उनलाई गत पुसमा नुवाकोटकै समिर परियारले भारतमा काममा लगाइदिन्छु भन्दै फकाए। नेपालमा दैनिक ज्यालादारी गर्दा कहिल्यै मनग्गे पैसा देख्न पाएका थिएनन । समिरको कुराले उनको मन पग्लिदैं गयो।
उनी गत पुसमा समिरकै निर्देशन अनुसार भारतको दिल्ली पुगे। दिल्ली पुग्ने बित्तिकै उनलाई रिसिभ गर्ने व्यक्तिहरुले संगै मदिरा पिउन दिए। मदिरामा बेहोस बनाउने केही कुरा मिसाएकाले दोस्रो गिलास पिउन सुरु गर्ने वित्तिकै उनी बेहोस भए। होस आउँदा उनको दाहिने कोखो दुखिरहेको थियो। नजिकै उपचार गराइरहका अर्का मानिसलाई उनले सोधे । अर्को बेडमा भएका व्यक्तिको भने आन्द्रा गाँठो परेकोले अप्रेशन गरेको रहेछ । सोझा प्रकाशले उनीहरुको कुरा पत्याए।
चिकित्सकको निरन्तरको निगरानीपछि उनी एक महिनामा सन्चो भए। अब कामको खोजी गर्ने र घरमा रकम पठाउने सोच राखेका उनलाई एक्कासी पहाड खसेजस्तो भयो, जब उनकै साथीहरुले रेल चढाएर नेपाल र भारतको सीमानासम्म पठाइदिए। सीमाना सुनौली नाकाबाट उनै समिरले उनलाई रिसिब गरे र कलङ्कीसम्म ल्याएर छाडिदिए। समिरलाई त्यहाँ कस्ले बोलायो? कसरी भेट भयो? प्रकाशलाई अत्तोपत्तो छैन । कमाउन भनेर मुग्लान पसेका प्रकाश नौ डाँडा पारीबाट फेरि नुवाकोटको छिमेकी जिल्ला काठमाडौं छिरे। उनको दुखाई निको भएकै थिएन। काठमाडौं बसाइकै क्रममा डाक्टरलाई देखाउन जाँदा पो पत्तो लाग्यो, मदिराको मातले उनको मिर्गौला खोसिसकेको रहेछ।
उनमा अहिले पनि पिसाव फेर्दा दुख्ने र कोखा दुखिरहने समस्या छ। प्रकाशले पहिलाको जस्तो काम गर्न सक्दैनन। आफूलाई भारत लैजाने समिर नेपाली पक्राउ परेको थाहा पाएपछि उनीसहित परिवारका जाहेरी दिन सोमबार मानव वेचबिखन विरुद्धको ब्युरोमा पुगेका छन्। परियारको परिवारमा श्रीमती र दुई छोराछोरी छन् । ज्याला मजदुरी गरेर खाने शरीर नै असक्त भएकोले थप पीडामा परेको आफन्तले बताए।
प्रहरीको सम्पर्कपछि प्रलोभनमा परी मिर्गौला बिक्री गरेका काभ्रेका दम्पत्ति पनि मानव वेचबिखन विरुद्धको व्युरोमा पुगेका छन्। उनीहरुले पनि समिर नेपालीकै आश्वसनमा परी एक वर्षअघि मिर्गौला विक्री गरेका थिए। मिर्गौला बिक्री वापत यो दम्पत्तिले १३ लाख रुपैयाँ बुझेका पनि हुन्। उनीहरुलाई समिरले आफ्नै मिर्गौला झिकेको तर केही नभएको बताएर प्रलोभनमा पारेका थिए। घरमा आर्थिक संकटले गाँजेका कारण मिर्गौला विक्री गर्न बाध्य भएको परियार दम्पत्तिको भनाइ छ।
तर प्रहरी उनीहरु माथिको प्रलोभन पनि मानव वेचबिखन अन्तर्गत नै पर्ने बताउँछ। उनीहरु पनि समिरविरुद्ध जाहेरी दिने तयारीमा छन् । यी तीन जना पीडित बाहेक व्युरोमा सोमबारसम्म पाँच जना मिर्गौला बेचबिखनका पीडित सम्पर्कमा आइसकेका छन। सबैभन्दा पहिला सिन्धुलीका युवा छन्। थप पीडित सम्पर्कमा आउने क्रममा रहेको र मिर्गौला बेचबिखनमा संलग्न गिरोहका थप व्यक्तिबारे पनि जानकारी प्राप्त हुन सक्ने प्रहरीको अनुमान छ।
प्रहरीले शुक्रबारसम्म मिर्गौला बेचबिखन गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवकोटाका २४ वर्षीय समिर नेपाली, नुवाकोटकै ४७ वर्षीय राकेश परियार र काभ्रेका राजकुमार नेपाली छन्। उनीहरु सबैलाई मानव वेचबिखन अपराध सम्वन्धी ऐन अनुसार दश वर्ष कैदको सजाय हुने मानव वेचबिखनविरुद्धको अनुसन्धान व्युरोका प्रहरी उपनिरिक्षक कृष्ण प्रसाद पंगेनीले बताए। उनका अनुसार यो गिरोहले ५० जनाभन्दा बढीको मिर्गौला बिक्री भएको हुन सक्ने अनुमान छ । थप पीडित सम्पर्कमा आउने क्रममा रहेको व्युरोले जनाएको छ।
प्रकाशित: २६ श्रावण २०८२ १६:०८ सोमबार




-600x400.jpg)
