स्थगन भएको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार निर्माण कार्य चाँडो सुरु गर्नुपर्ने माग गर्दै आइतबार ताप्लेजुङमा वृहत् नागरिक सद्भाव र्याली निकालिएको छ।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको ब्यानरमा निकालिएको र्याली पाथीभरा चौक–वीरेन्द्र चौक–जिमीपोखरी टोल–दोबाटो–शान्तिटोल–तोक्मे–माथिल्लो रोड हुँदै वीरेन्द्र चोकमा आएर कोणसभामा परिणत भएको थियो।
कोणसभामा बोल्ने वक्ताहरूले स्थगन भएको केवलकार निर्माण तत्काल सुरु गर्न माग गरे। उनीहरूले निजी क्षेत्रको लगानी सुरक्षण गर्नु सरकारको दायित्व भएको बताउँदै निर्माण कार्यलाई तत्काल अघि बढाउने वातावरण तयार गर्न सरकारसँग माग गरेका छन्।
कोणसभामा नगरप्रमुख अमिर मादेन, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्धन समितिका अध्यक्ष तथा व्यवसायी तारानाथ घिमिरे, जेनजी अगुवा करण गुरुङ ज्येष्ठ नागरिक अगुवा कर्ण इजम लिम्बू, महिला नेतृ मीना गुरुङ र पदमचेञ्जी मावोले केवलकार आधुनिक युगको सुहाउँदिलो र सबैभन्दा कम प्राकृतिक क्षतिमा निर्माण हुने यातायातको उत्तम साधन भएको तर्क गरे।
केवलकार निर्माणले पाथीभरा पुग्न चाहना भएका तर भूगोल र पदमार्गका कारण त्यहाँ पुग्न नसकेका तीर्थालुका लागि ठूलो लाभ हुने बताउँदै उनीहरूले केवलकार निर्माणपछि पाथीभरा क्षेत्रमा आउने तीर्थालुको संख्यामा वृद्धि भई आर्थिक विकासमा नयाँ आयाम स्थापित गर्ने दाबी गरे।
फुङलिङ नगरप्रमुख मादेनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र श्रमजीवीहरू समेत र्यालीमा सहभागी भएको जानकारी दिए। र्यालीमा सहभागीले ‘नगरौँ गलत प्रचार,यातायातको साधन मात्र हो केवलकार,‘ताप्लेजुङको समृद्धिका लागि केवलकार निर्माण गरौं’,‘विरोध होइन पराय, सबै मिली खोजौँ उपाय’जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए।
नाराका क्रममा स्थगन भएको ‘केवलकार निर्माण कार्य सुरु गर,‘विकासलाई मास्न पाइदैँन’‘पाथीभरा माताकी जय’जस्ता नारा लागेका थिए।
उता मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति र केवलकार खारेजी संयुक्त सङ्घर्ष समितिले भने विज्ञप्ति जारी गरी र्यालीमा सहभागी नहुन आह्वान गरेका थिए।
मुक्कुमलुङ क्षेत्रको अतिक्रमण र केवलकार खारेजीको आन्दोलनलाई दमन गर्न भएका मानव अधिकार विरोधी घटनाको छानबिन कार्य चलिरहेको अवस्थामा त्यसलाई प्रभाव पार्ने नियतले र्याली आयोजना गरिएको बताउँदै मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका अध्यक्ष श्रीलिङखिम र केवलकार खारेजी संयुक्त सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बुद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो।
प्रकाशित: २४ जेष्ठ २०८३ १७:५० आइतबार





