१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट

'उत्कृष्ट नगरपालिका' सम्मान थाप्दै नगरप्रमुख बिमला राई। तस्बिरः महेश्वर/नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएको छ। संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा देशभरका २ सय ७६ नगरपालिकामध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै हलेसी तुवाचुङ उत्कृष्ट भएको हो।

चालु वर्षको संस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा ९० अङ्क प्राप्त गर्दै उत्कृष्ट नगरपालिका घोषित भएवापत हलेसी तुवाचुङले ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’को सम्मान प्राप्त गरेको छ। नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नगरप्रमुख विमला राईलाई उक्त सम्मान प्रदान गरे।

खोटाङका २ नगरसहित १० वटा स्थानीय तहमध्ये जिल्लाको दोस्रो ठूलो नगरपालिका हलेसी तुवाचुङ नगरपालिकाले पछिल्लो समय आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व क्षेत्रमा उल्लेख्य सुधार गर्दै आएको छ। स्थानीय तहको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने तथा संस्थागत क्षमता अभिवृद्धितर्फ केन्द्रित कार्यक्रमले नगरपालिकालाई उत्कृष्ट हुने अवसर दिएको हो।

हलेसी तुवाचुङले बालिका बचत, व्यवसाय गर्न चाहने नगरवासीलाई बिनाब्याज ऋण अनुदान, रैथाने बाली उत्पादन गर्न चाहने किसानलाई अनुदानलगायत जनमुखी कार्यक्रम गर्दै आएको छ। यी र यस्ता नगरवासीमैत्री कार्यक्रमहरूले यो नगर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको नतिजामा गत वर्ष प्रथम भएको नगरपालिका यस वर्ष पनि जिल्लाका ९ वटा स्थानीय तहलाई पछाडि पार्दै जिल्ला प्रथम भएको हो।

आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजामा महिला नगरप्रमुखले नेतृत्व गरेको हलेसी तुवाचुङले सबैभन्दा बढी ७२.५५ नम्बर पाएको छ। अर्को नगरपालिका दिक्तेल रुपाकोट मझुवागढीले ७१.०४ अङ्क पाएको छ।

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिका ०७३ को स्थानीयतह पुनर्संरचना गर्दा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल त्रिधार्मिकस्थल हलेसी मन्दिरबाट नामाकरण गरिएको हो। विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी तुवाचुङले यसअघि नेपालभरिका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नगरपालिका पुरस्कार अन्तर्गत प्रदेशस्तरीय ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ पनि प्राप्त गरेको थियो।  

शिक्षविद प्रा. डा. विद्यानाथ कोइराला नेतृत्वको पुरस्कार छनौट समितिले तय गरेको विभिन्न २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गर्दा हलेसी तुवाचुङलाई प्रदेशभरको उत्कृष्ट नगरपालिका ठहर गर्दै सो पुरस्करका लागि सिफारिस गरेको थियो। शिक्षा क्षेत्रमा भए गरेका उत्कृष्ट कामका लागि नगरपालिकाले गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहलको प्रोत्साहनस्वरुप पानले सो पुरस्कार प्रदान गरेको जनाएको छ।

हलेसी तुवाचुङमा सञ्चालनमा रहेका ९० वटा विद्यालयमध्ये सामुदायिक विद्यालयहरूमा गएको ३ वर्षमा भौतिक पूर्वाधार विकास, शिक्षक दरबन्दी व्यवस्थापन, प्रसुति सट्टा शिक्षक, प्राविधिक तथा प्रविधियुक्त शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याइएको छ।  

जिल्ला समन्वय समिति खोटाङले पनि तीन दिनअघि आयोजित १० औँ जिल्ला सभामा हलेसी तुवाचुङलाई सम्मान गरेको थियो। समन्वय समितिले ‘महिला सशक्तीकरण तथा बालिका संरक्षण कार्यक्रम’ सञ्चालन गरेवापत सम्मान गरिएको समन्वय प्रमुख सनबहादुर राईले बताएका छन्।

प्रकाशित: २७ चैत्र २०८२ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App