दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ।
छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतनामूलक अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको थियो। अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह तथा नागरिक समाजको सक्रिय सहभागितामा देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो।
दुवै पक्षले दाइजो प्रथा महिला हिंसा, लैङ्गिक विभेद तथा सामाजिक अन्यायको प्रमुख कारणमध्ये एक रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि कडा कानुनी कार्यान्वयन, प्रभावकारी अनुगमन तथा व्यापक जनचेतनामूलक अभियानलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
मन्त्री बादीले दाइजो प्रथा केवल कानुनी नभई सामाजिक चुनौतीसमेत भएकाले यसको अन्त्यका लागि राज्य, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज, सञ्चारमाध्यम तथा समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको बताइन्। उनले कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा व्यवहारगत परिवर्तन ल्याउने अभियानलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।
उपसभामुख रुबी कुमारीले मधेश प्रदेशबाट सुरु हुने अभियानले दाइजो प्रथाविरुद्ध राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको बताइन्।
भेटका क्रममा दाइजो प्रथा अन्त्यका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउने, जनचेतनामूलक अभियानलाई संस्थागत रूपमा अघि बढाउने तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।
प्रकाशित: ६ श्रावण २०८३ १५:२४ बुधबार





