‘युवाको एकता, सुशासनको आधार’ भन्ने मूल नाराका साथ मंगलबार जुम्लामा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस एक विशेष अन्तरक्रिया कार्यक्रमका बीच सम्पन्न भएको छ।
राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जुम्लाको सहजीकरणमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले भाषणमा भन्दा व्यवहारमा सुधार नआएसम्म भ्रष्टाचार न्यूनीकरण चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले समाजमा गहिरो जरा गाडेर बसेको ‘अवैध कमाइलाई सफलता ठान्ने’ गलत संस्कार नै भ्रष्टाचारको मुख्य कारण भएको औंल्याए।
उनले भने, ‘कुनै कर्मचारीले जागिर खाएको केही वर्षमै घर ठड्यायो भने समाजले उसलाई ‘कति चलाख’ भनेर प्रशंसा गर्छ। तर, इमानदारलाई कमजोर ठानिन्छ। जबसम्म समाजको यो मानसिकता बदलिँदैन, तबसम्म सुशासन केवल नारामा सीमित रहन्छ।’
चन्दननाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख रवि थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति टिप्पणी गरे।
अख्तियार पछिल्लो समय ‘कमाई खाने भाँडो’ जस्तै देखिन थालेको आरोप लगाउँदै उनले भने, ‘जुम्लाका धेरै विकास योजनाहरू प्रक्रियागत कारण देखाउँदै अख्तियारमा थन्किएका छन्, तर कार्यान्वयन पक्षमा कुनै सुधार देखिँदैन।’
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले भ्रष्टाचार विरुद्धको अभियानलाई औपचारिकता र दिवस मनाउने संस्कारबाट माथि उठाउनुपर्नेमा जोड दिए।
‘स्थानीय सरकार आएपछि पनि राजनीतिक पूर्वाग्रहका कारण सेवा प्रवाह प्रभावित भइरहेको छ,’ उनले भने, ‘भ्रष्टाचार गर्नु पनि हुँदैन र गर्न दिनु पनि हुँदैन। यसका लागि अब युवाको सक्रिय भूमिका अपरिहार्य छ।’
त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोग जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य) ले ग्रामीण भेगका नागरिक अझै पनि आफ्ना अधिकारबारे खुलेर बोल्न नसक्ने अवस्था रहेको बताइन्।
पदको दुरुपयोग गर्ने र सेवाग्राहीबाट अनावश्यक उपहार वा सुविधा लिने प्रवृत्ति पनि भ्रष्टाचार नै भएको भन्दै उनले राज्य संयन्त्र पारदर्शिता र उत्तरदायित्वप्रति गम्भीर हुनुपर्ने धारणा राखिन्।
सहायक जिल्ला न्यायाधिवक्ता हिरालाल भोलनले कार्यालय प्रमुखदेखि तल्लो तहका कर्मचारीसम्म उत्तरदायी नबनेसम्म भ्रष्टाचार नियन्त्रण सम्भव नहुने बताए।
प्रकाशित: २३ मंसिर २०८२ २२:०२ मंगलबार





