२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

‘आँखाका भगवान्’ रुइतले उदयपुरमा फर्काए सयौंको ज्योति !

‘आँखाका भगवान्’को उपमा पाइसकेका डा. सन्दुक रुइत ३ दिनयता उदयपुरमा रमाउँदैछन्। आइतबार साँझ उदयपुर आएका डा. रुइत अहिले चौदण्डीगढी नगरपालिका ७ सातधारे स्थित साबिक कोभिड अस्पतालमा मोतियाबिन्दुका रोगीहरूको आँखा शल्यक्रिया (अप्रेसन)मा व्यस्त छन्।

कोभिड अस्पतालमा डा. रुइत सोमबार बिहानदेखि आँखा अप्रेसनमा व्यस्त रहेका छन्। चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका विभिन्न वडामा सञ्चालित साताव्यापी आँखा शिविरमा फेला परेका मोतियाबिन्दुका रोगीहरूको ज्योति फर्काउने चटारोमा अहिले छन् उनी नेतृत्वको चिकित्सक समूह डा. रुइतसमेत ३ जना विशेषज्ञ चिकित्सकले सोमबार १ सय ५२ जनाको आँखाको ज्योति फर्काइसकेको चौदण्डीगढी नगरपालिका ४ का वडाध्यक्ष तथा शिविर आयोजक समिति संयोजक लुँगराज राईले बताए।

उनका अनुसार मंगलबार बिहानदेखि साँझ ७:०० बजेसम्म १ सय ६० जनाको आँखा अप्रेसन भइसकेको छ भने अहिले पनि अप्रेसन जारी छ। राति ९:०० बजेसम्म अप्रेसन गर्ने क्रम चल्ने वडाध्यक्ष राईले बताए। चौदण्डीगढीका १० वटै वडा, बेलकाका ४ र त्रियुगा नगरपालिकाका ४ वडामा टोली खटाएर आँखा शिविर सञ्चालन गरिएको थियो। ती सबै शिविरमा ५ सय ६६ जना मोतियाबिन्दुका रोगी फेला परेको र सबैको अप्रेसन गर्ने कार्यक्रम रहेको राईले बताए।

डा. रुइत र उनको टिम मंगलबार बिहानदेखि अप्रेसनमा व्यस्त भइरहेको आयोजकले जनाएको छ। ‘आइतबार साँझ आएका डा. रुइत र अन्य २ जना विशेषज्ञ डा. हरू सोमबार बिहानदेखि निरन्तर अप्रेसनमा खटिरहनुभएको छ’ वडाध्यक्ष राईले भने ‘धेरै जनाको अप्रेसन गर्नुपर्ने तथा ३० गतेभित्र सक्नुपर्ने भएकाले बिहानदेखि राति अबेरसम्म खटिरहनुभएको छ।’

नगरप्रमुख कालुमान लामाले चौदण्डीगढीले केही वर्षयता निरन्तर निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ। यस वर्ष भने छिमेकी नगरपालिकालाई समेत समेटेर बृहत् शिविर सञ्चालन गरेको र डा. रुइतकै उपस्थितिमा अप्रेसन गर्ने कार्यक्रम राखेको बताए। विश्वकै आँखाका भगवानको उपमा पाइसकेका डा. लाई प्रत्यक्ष उपस्थित गराएर नगरवासीको आँखाको ज्योति फर्काउन यो शिविर सञ्चालन गरेको लामाले बताए।

‘विश्व प्रसिद्ध डा. भएकाले उनको उपस्थिति पनि हाम्रा लागि धन्य हो’ मेयर लामाले भने ‘त्यसैले वहाँकै हातबाट अप्रेसन गराउन बृहत् शिविर राखेर बोलाएका हौँ, आएर सेवा गरिरहनु भएको छ।’ मेयर लामाले गएको ३ वर्षयता चौदण्डीगढीका मात्र ७ हजार बढीले घरपायक आँखा परीक्षण सेवा पाइसकेको र जसमध्ये १ हजार बढीको मोतियाबिन्दुको सफल अप्रेसन गरी गुमेको ज्योति फिर्ता भइसकेको बताए।

डा. रुइत आउने भएपछि टाढा टाढाका बिरामीसमेत आएकाले चाप ह्वात्तै बढेको उनले बताए। ‘शिविर त यसअघि पनि वर्षेनी चलाउँदै आएको हो तर, यस पटक अलि बृहत् र डा. रुइत नै आउने भएकाले धेरै चाप बढेको छ’ मेयर लामाले भने ‘शिविरमा जँचाउँदा भेटिएका मोतियाबिन्दुका बिरामी मात्र नभएर डा. रुइतलाई आँखा जँचाउन आउनेहरू पनि थुप्रै भएकाले भिडभाड भयो।’

२८ देखि ३० गतेसम्म ३ दिन अप्रेसन शिविर राख्ने भनिए पनि बिरामी बढी भएकाले समय लम्बिन सक्ने आयोजकले जनाएको छ। अप्रेसन ३ दिन गर्नका लागि डा. रुइतलाई निम्तो दिइएको भए पनि २ दिनमा आधा जत्तिको बाँकी रहेकाले नभ्याउला भन्ने सम्भावना रहेको संयोजक राईले बताए।

प्रकाशित: ३० पुस २०८२ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App