जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्।
दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै स्थानीयहरूले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन्।
गरिमा आइतबार बिहान खेल्ने क्रममा बेपत्ता भएकी थिइन्। उनको शव घरबाट २०० मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो।
बालिकालाई बलात्कार गरेर हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको थियो। सोही आरोपमा प्रहरीले जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।
प्रकाशित: ४ भाद्र २०८३ १४:०६ बिहीबार





