२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँचीमा बिहानैदेखि जेन-जीको प्रदर्शन : निशानामा पार्टीका कार्यालय

अर्घाखाँचीमा मङ्गलवार बिहानै देखि प्रदर्शन चर्किएको छ ।  

सरकार नरसंहारमा उत्रिएको भन्दै बिहानै देखि युवा-युवती तथा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । अर्घाखाँचीका निर्मल सारुको हिजो काठमाडौंमा प्रदर्शनका क्रममा मृत्यु भएपछि आक्रोश बढेको हो ।  

भक्तीटोल चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रहरी कार्यालय, सन्धिखर्क नगरपालिका हुन्दै शान्ति बगैंचातर्फ गएको छ । गुरुदेव खनाल, पुष्कर पौडेल, प्रकाश श्रेष्ठ लगायतका युवाहरुको नेतृत्वमा प्रदर्शन अघि बढेको आयोजकले बताएको छ ।  

अर्घाखाँचीमा हिजो पनि ‘जेन-जी’को प्रदर्शन भएको थियो । जिल्ला सदरमुकाम सन्धिखर्कमा विभिन्न प्लेकार्डसहित स्थानीय युवा-युवती प्रदर्शनमा उत्रिएका थिए । हिजो बेलुका मसाल जुलुससहित प्रदर्शन भएको थियो ।  

काठमाडौंसहितका स्थानमा करिब दुई दर्जन व्यक्तिको मृत्यु भएपछि देशैभर आक्रोश बढेको छ । ‘जेन-जी’ पुस्ता मात्र नभएर आज स्वतःस्फूर्त सबै पिढीका नागरिक सडकमा उत्रिएका छन् ।  

प्रदर्शनकारीले मेनलाइनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय, गौरीशंकरचोकमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय र शान्ति बगैंचा मुनि पट्टी रहेको नेकपा (एमाले) को कार्यालयमा सामान्य तोडफोड गरेका छन् । पार्टी कार्यालयहरूमा राखिएका बोर्डहरू फालिएका छन् ।

प्रकाशित: २४ भाद्र २०८२ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App