काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भन्दै महानगरवासीलाई घरको फोहर बाहिर ननिकाल्न अनुरोध गरेको छ।
फोहोर ढुवानी गर्ने सडक तथा ल्याण्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेका कारण फोहोर ढुवानी तथा विसर्जनमा असहजता उत्पन्न भएको महानगरले जनाएको छ।
महानगरपालिकाले फोहोर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म घर तथा परिसरभित्रै फोहोर सुरक्षित रूपमा राख्न आग्रह गरेको छ। साथै सड्ने तथा नसड्ने फोहोर छुट्याएर सुरक्षित रूपमा व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ।
महानगरले घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा अन्य खुला स्थानमा नफाल्न आग्रह गरेको छ।
सार्वजनिक तथा सडक क्षेत्रमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ।
वर्षा तथा ल्याण्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।
प्रकाशित: ९ आश्विन २०८३ १२:१० शुक्रबार





