काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीकी श्रीमती एकमाया नेपालीलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह प्रशासन, महानगरपालिका र पीडित परिवारबीच भएको ९ बुँदे सहमतिमा श्रीमती एकमायालाई रोजगारीको ग्यारेन्टी गरिएको हो।
सहमति पत्रको चौथो बुँदा अनुसार काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमती एकमाया नेपालीलाई उनको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ।
यसका साथै मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च समेत काठमाडौं महानगरपालिकाले नै व्यहोर्ने सहमति पत्रमा उल्लेख छ।
महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाट निर्णय गराई आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराउने सहमतिसमेत गरेको छ।
यसैगरी, काठमाडौंमा गरिने काजक्रिया तथा अन्तिम संस्कारको सम्पूर्ण खर्च र व्यवस्थापन महानगरले नै गर्नेछ भने एकाघरका परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइनेछ।
प्रकाशित: २८ असार २०८३ १९:१६ आइतबार





