गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन १३ बुँदे संकल्पपत्र जारी गर्दै सम्पन्न भएको छ। नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र, बलम्बु, दाङको आयोजनामा नवलपुरको गैँडाकोटस्थित मौलाकालिका संस्कृत विद्यापीठ तथा धार्मिक सेवा समिति, मौलाकालिका मन्दिर परिसरमा कात्तिक २८ देखि ३० गतेसम्म तीनदिने सम्मेलन आयोजना गरिएको थियो।
सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न गुरुकुलका सञ्चालक, पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो। गुरुकुल शिक्षा प्रणालीको संरक्षण, संवर्द्धन, विकास र विस्तार गर्दै वर्तमान समयका चुनौतीलाई सामूहिक प्रयासबाट समाधान गर्ने उद्देश्यले संकल्पपत्र जारी गरिएको सदस्यसचिव रामचन्द्र कँडेलले जानकारी दिए।
सम्मेलनले नेपालको मौलिक वैदिक परम्परा, संस्कृत शिक्षा तथा धार्मिक र नैतिक मूल्य–मान्यताको संरक्षण गर्दै गुरुकुल शिक्षालाई समयानुकूल र प्रभावकारी बनाउने प्रतिबद्धतासहित १३ बुँदे संकल्पपत्र जारी गरेको हो।
संकल्पपत्रमा गुरुकुलहरूको प्रवर्द्धन र विकासका लागि सामूहिक एकता तथा सहकार्य गर्ने, वैदिक परम्परा र पौरस्त्य धर्म–संस्कृतिको संरक्षण गर्दै आधुनिक आवश्यकतालाई आत्मसात् गर्ने, गुरुकुल शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने र गुरुकुलबीच देखिने आन्तरिक तथा बाह्य समस्यालाई संवादमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, गुरुकुलहरूको भौतिक सम्पत्तिको संरक्षण, स्रोत वृद्धि तथा प्रभावकारी सञ्चालन, गुरुकुल परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने, शिक्षक तथा कर्मचारीको क्षमता विकास गर्ने र विद्यार्थीलाई योग्य, नैतिकवान् तथा प्रतिस्पर्धी बनाउने विषयलाई पनि संकल्पपत्रमा समेटिएको छ।
त्याग, दान, पवित्रता, सेवा, सदाचार र स्वाध्यायलाई गुरुकुल शिक्षाका आधारभूत जीवनमूल्यका रूपमा आत्मसात् गर्ने उल्लेख गरिएको छ। सम्मेलनका क्रममा संस्कृत शिक्षाको अध्ययन, अध्यापन, अनुसन्धान तथा अन्वेषणका सम्भावना र गुरुकुल शिक्षा प्रणालीको प्रभावकारी विस्तारका विषयमा समेत छलफल गरिएको थियो।
सम्मेलन नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, मौलाकालिका धार्मिक सेवा समिति गैँडाकोट र मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुल) को सहकार्यमा सम्पन्न भएको हो।
सम्मेलनले गुरुकुल शिक्षाको संरक्षण र विस्तारसँगै संस्कृत भाषा, वैदिक ज्ञान, नैतिक शिक्षा तथा आध्यात्मिक संस्कृतिको प्रवर्द्धनमा नयाँ ऊर्जा र साझा प्रतिबद्धता थप्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १ मंसिर २०८३ १९:२८ मंगलबार





