दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका ८६० जना नेपाली नागरिकको उद्धार गरिएको छ। तर, कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित यस्ता केन्द्रमा नेपाली नागरिक फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अनलाइन ठगीका केन्द्रमा फसेका तथा अलपत्र परेका नेपाली नागरिकको उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्काउन सम्बन्धित देशका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको जानकारी दिए।
ठगीमा परेका नेपाली नागरिक तथा उनीहरूका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली राजदूतावासमा सम्पर्क गर्ने क्रम जारी रहेको उनले बताए। यस्ता घटनामा परेका नेपालीको उद्धार र स्वदेश फिर्तीका लागि आवश्यक सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ।
साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु
यसैबीच, साउदी अरेबियाको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता पौडेल क्षेत्रीका अनुसार कात्तिक ४ गते भएको घटनामा नेपाली नागरिकको मृत्यु भएको हो। मृतकको शव नेपाल ल्याउन रियादस्थित नेपाली राजदूतावासमार्फत आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए।
मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
नेपाल सरकारले यसअघि नै उक्त आक्रमणको भर्त्सना गरिसकेको छ। असोज २५ गते प्रेस विज्ञप्ति जारी गर्दै नेपालले विवादको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आह्वान गरेको थियो। सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुनेमा सरकारले जोड दिएको प्रवक्ता पौडेल क्षेत्रीले बताए।
बिमस्टेकमा सुरक्षा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
क्षेत्रीय सुरक्षा सहकार्यअन्तर्गत बंगालको खाडीका बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि गठन गरिएको बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ।
सन् २०२६ अक्टोबर १३ मा सम्पन्न बैठकले आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धतासहित २६ बुँदे घोषणापत्र जारी गरेको मन्त्रालयले जनाएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका गृहमन्त्री सुधन गुरुङले सदस्य राष्ट्रहरूले सामना गरिरहेका साझा सुरक्षा चुनौतीको प्रभावकारी सम्बोधनका लागि आपसी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
सार्कका नयाँ महासचिव छिट्टै काठमाडौं आउने
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का १५औँ महासचिव मोहम्मद गोलाम सरवारले कार्यकाल पूरा गरी स्वदेश फर्किएको मन्त्रालयले जनाएको छ।
उनको स्थानमा नियुक्त सार्कका १६औँ महासचिव भुटानका तासो सोनाम तोब्गे छिट्टै काठमाडौं आउने प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिए।
पाँच देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र
यस अवधिमा पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार असोज २८ गते नेपालका लागि युरोपेली संघ, इन्डोनेसिया, सुडान गणतन्त्र, घाना र ब्रुनाई दारुसलामका राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।
नयाँ राहदानी प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ
परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली कार्यान्वयनमा आएको तीन महिना पूरा भएको जनाएको छ। प्रणाली सञ्चालनका क्रममा देखिएका प्राविधिक समस्या समाधान गर्दै सेवा प्रवाहलाई सहज बनाउन मन्त्रालय र सम्बन्धित विभाग प्रतिबद्ध रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताए।
मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्ला प्रशासन कार्यालय, २४ इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ नेपाली नियोगमा लाइभ इनरोलमेन्ट सेवा सञ्चालनमा आएको छ।
नयाँ प्रणालीमार्फत हालसम्म करिब दुई लाख ५० हजार राहदानी छपाइ भइसकेको मन्त्रालयले जनाएको छ। प्रणालीमा देखिएका समस्या समाधान गर्दै राहदानी सेवा थप प्रभावकारी बनाउने प्रयास भइरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
प्रकाशित: १३ कार्तिक २०८३ १७:३३ शुक्रबार




-600x400.jpg)
-600x400.jpg)