५ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

बाढीमा बेपत्ता पाल्पाका ४ जनाको ‘कुशको शव’ बनाएर अन्त्येष्टि, ६ परिवार अझै पर्खाइमा

भोटेकोशी बाढीमा बेपत्ता भएको तीन सातासम्म पनि कुनै पत्तो नलागेपछि पाल्पाका चार जनाको हिन्दू परम्पराअनुसार ‘कुशको शव’ बनाएर दाहसंस्कार गरिएको छ।

गत भदौ १० गतेको बाढीमा परेर जीवित भेटिने आस टुटेपछि निराश परिवारले नदी किनारमा कुशको पुत्ला बनाई अन्तिम संस्कार गरेका हुन्।

कुशको शव बनाएर अन्त्येष्टि गरिएकाहरूमा रसुवास्थित जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत रिब्दीकोट गाउँपालिका-३ का विकास नेपाल, लाङटाङ हाइड्रोपावरका मेकानिकल सुपरभाइजर तिनाउ गाउँपालिका-२ का ३४ वर्षीय रमेश थापा, लाङटाङ राष्ट्रिय निकुञ्जमा कार्यरत रेन्जर तानसेन नगरपालिका-७ की ३५ वर्षीया निलम कार्की र कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका कर्मचारी तानसेन-३ का तिलबहादुर राना रहेका छन्।

बेपत्ता भएको २४ दिनपछि तिनाउका रमेश थापाको परिवारले शनिबार दोभान खोलास्थित बञ्चरे पहाड घाटमा कुशको शव बनाई दाहसंस्कार गरेको छ। उनका एक छोरा छन्।

यस्तै, तीन हप्तासम्म पनि सम्पर्कमा नआएपछि रिब्दीकोटका विकास नेपालको आइतबार रिडीस्थित कालीगण्डकी नदीमा हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको उनका आफन्त निलम गौतमले जानकारी दिए।

लाङटाङ निकुञ्जकी रेन्जर निलम कार्की र कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र बेलाटारीमा कार्यरत तिलबहादुर रानाको परिवारले पनि कालीगण्डकी नदी किनारमै कुशको प्रतीक बनाएर अश्रुपूर्ण बिदाइ गरेका छन्।

भोटेकोशीको बाढीमा पाल्पाका ११ जना नागरिक सम्पर्कविहीन भएका थिए। तीमध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको शव यसअघि नै फेला परेर पहिचान भइसकेको छ।

चार परिवारले कुशको शव बनाएर काजकिरिया थालिसक्दा पनि बेपत्ता अन्य ६ जनाका आफन्त भने अझै चमत्कारिक रूपमा आफ्ना मान्छे फर्किने झिनो आशामा बाटो हेरिरहेका छन्।

हालसम्म सम्पर्कविहीन रहेकामा रैनादेवी छहरा गाउँपालिका-१ का सशस्त्र प्रहरी जवान आनबहादुर कुमाल, रिब्दीकोट-५ का कृष्णबहादुर बस्याल, बगनासकाली गाउँपालिका-५ का किशोर न्यौपाने क्षेत्री, निस्दी-३ का बोमबहादुर सोमै तथा रामपुर–७ का रामु सुती र अमृत सुती छन्।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बाढीमा बेपत्ता भएका नागरिकहरूको खोजी कार्य रोक्न नदिइएको र स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल निरन्तर जारी राखेको बताएका छन्।

प्रकाशित: ५ आश्विन २०८३ १६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App