ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ विद्युतीय (ईभी) हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
ईभी हाइस अनियन्त्रित भएर सुरुमा सडक छेउको एक घरको गेटमा ठोक्किएको थियो। त्यसपछि गेट नजिकै पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किन पुगेको थियो। दुर्घटनाबाट पार्किङ गरिएको कारमा सामान्य क्षति पुगेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका हाइस चालक महालक्ष्मी नगरपालिका-८ लुभुका २६ वर्षीय अखिल राजथलाको किस्ट अस्पतालमा उपचार भइरहेको छ। यस्तै, गम्भीर अवस्थाकै अर्का घाइते महालक्ष्मी नगरपालिका–७ चाँगाथलीका २५ वर्षीय आशिष महर्जनको बी एन्ड बी अस्पतालमा उपचार जारी छ।
यसैगरी, दुर्घटनामा घाइते भएकी मकवानपुर घर भई हाल महालक्ष्मी–६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामाको अवस्था मध्यम रहेको छ भने लुभुका २६ वर्षीय राज महर्जन सामान्य घाइते भएका छन्। उनीहरू दुवै जनाको किस्ट अस्पतालमै उपचार भइरहेको छ।
उक्त हाइसमा चार जना मात्र सवार रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ भाद्र २०८३ १३:२० शनिबार





