कालीकोटमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्लाको खाँडाचक्र नगरपालिका-७, पिलीस्थित सुर्खेत-जुम्ला सडकखण्डमा सोमबार अटो दुर्घटना भएको हो।
पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
दुर्घटनामा महाबै गाउँपालिका-५, गेला निवासी ३५ वर्षीय मंगल शाही र सोही ठाउँकी २५ वर्षीया सविना शाही गम्भीर घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
त्यस्तै, महाबै गाउँपालिका-६ की २६ वर्षीया प्रतिमा आचार्य र वडा नम्बर ५ का २९ वर्षीय कुलप्रसाद भट्टराई मध्यम घाइते भएका छन्।
अटो चालक खाँडाचक्र नगरपालिका-७, पिली निवासी ४७ वर्षीय कृष्णबहादुर मल्ललाई भने चोटपटक नलागेको र प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीले जानकारी दिए।
प्रकाशित: २५ श्रावण २०८३ १३:३१ सोमबार


-600x400.jpg)


