१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

वैदेशिक रोजगार ठगी : फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमितताबाट पीडित नागरिकलाई न्याय दिलाउने र कानुनी प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।

विभागबाट जारी सूचनामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैकिङ्ग कारोवार रोक्का लगायतका कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

वैदेशिक रोजगारका नाममा हुने झुटा आश्वासन, अनधिकृत रकम असुली, नक्कली मागपत्र तथा करारसम्बन्धी अनियमितताले श्रमिक र तिनका परिवारलाई आर्थिक तथा सामाजिक असर पार्ने गरेको छ। यस्ता गतिविधि नियन्त्रण गर्न उजुरीको शीघ्र सम्बोधन, अन्तरनिकाय समन्वय, नागरिक सचेतना र कानुनबमोजिमको कारबाही आवश्यक हुन्छ। विभागको पछिल्लो सूचनाले फरार आरोपितलाई कानुनी प्रक्रियामा ल्याई अनुसन्धान तथा मुद्दासम्बन्धी काम अघि बढाउने प्रयासलाई जोड दिएको छ।

समन्वित सरकारी कार्य, सहज उजुरी प्रणाली र समयबद्ध कानुनी कारबाहीले वैदेशिक रोजगार क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गर्दै श्रमिकको हकहित संरक्षणमा योगदान पुर्‍याउने सरकारी प्रतिबद्धता पूरा गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: १० कार्तिक २०८३ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App