९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा बाढीपहिरोको वितण्डा : मैवाखोलामा ११ परिवार विस्थापित, १२ घर उच्च जोखिममा

दुई जनाको ज्यान समेत गइसकेको पहिरोले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका चार वडामा गरी ११ घरपरिवार विस्थापित भएका छन् भने १२ उच्च जोखिममा रहेका छन्।

स्थानीय विपद् व्यवस्थापन समितिको तर्फबाट समितिका अध्यक्ष एवं पालिका अध्यक्ष विजयप्रकाश वनेमको नेतृत्वमा पहिरो प्रभावित क्षेत्र पालिकाको वडा नं २,४,५ र ६ को स्थलगत अनुगमन गरिएको छ। अनुगमनका क्रममा वडा नं २ मा २ घर, वडा नं ५ मा १ घर र वडा नं ६ मा ८ घर परिवार विस्थापित भएको पाइएको पालिका अध्यक्ष वनेमले जानकारी दिए। वनेमका अनुसार वडा नं ४ मा ५ घर र वडा नं ५ मा ७ घरपरिवार उच्च जोखिममा रहेका छन्। 

पहिरोले वडा नं ६ मा एक घर पुर्दा २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए। घाइतेहरू सामान्य अवस्थामा फर्कन थालेको स्थानीयले बताएका छन्। गत बुधबार मैवाखोला गाउँपालिका–६ फाकुम्बाको भित्तेमा गएको पहिरोमा परी अन्दाजी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको थियो।

फाकुम्बाको भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोमा पुरिएर लाक्पाखाङ्डु शेर्पाको घर बगाएको थियो। घर नै बगाउने गरी गएको पहिरोमा परी शेर्पा र छिमेकी मिङ्मालाकीको मृत्यु भएको थियो। पहिरोले बगाएका उनीहरूको शव खोजीका क्रममा दिउँसो भेटिएको थियो। पालिका अध्यक्ष वनेमका अनुसार पहिरोले वडा नं ४ को एकबासे सडक पूर्ण रूपमा बगाएको छ। वडा नं ४ र वडा नं ५ जोड्ने टिमुरे झोलुङ्गे पुलतर्फ जाने बाटोको भागमा जग बाहेक सबै बगाएको देखिएको पालिका अध्यक्ष वनेमले बताए।

पहिरोले वडा नं ५ को महादेवथान र कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको छ। वडा नं ५ र ६ जोड्ने चिम्फाक रानीवन सडकको मुढे–च्यानडाडा सडक बगाएको समेत वनेमले जानकारी दिए। यस्तै रानीवन साङलुप्पा सडकखण्ड ठाउँ–ठाउँमा बगाएको छ। रानीवन–साम्तोङ सडक पनि अवरुद्ध भएको पालिका अध्यक्ष वनेमले जानकारी दिए।

पहिरोले ओर्खुम–जैवा सडक बगाएको छ भने फाकुम्बा क्षेत्रमा सडक बगाएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। तिर्तिरे–खार्ते सडकको अयाक्मा जङ्गल क्षेत्रमा हालेको ग्याबिन र सोलिङ समेत बगाएको अध्यक्ष वनेमले बताएका छन्। अवरुद्ध भएका सडकहरू तत्काल खुल्ने सम्भावना नरहेको र विकल्पबारे पालिकाले सक्दो योजना बनाइरहेको समेत पालिका अध्यक्ष वनेमले जानकारी दिएका छन्।

प्रकाशित: १ आश्विन २०८२ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App